सहमति जुट्न नसक्दा देवानगन्जका रविन्द्रको शव अस्पतालमै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १२:२४
फाइल तस्बिर

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका सुनसरी देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जका २२ वर्षीय रविन्द्र मेहताको शव एक हप्तादेखि अस्पतालमै छ। देवानगञ्जमा दुई पक्षबीच भएको दङ्गामा घाइते भएका रविन्द्रको साउन १९ गते मृत्यु भएको थियो।

सरकार र मृतकका परिवारबीच सहमति जुट्न नसक्दा शवको पोस्टमार्टम हुन सकेको छैन। पीडित पक्षले शव परीक्षणअघि नै सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन्। सहिद घोषणा गर्न निश्चित कार्यविधि पूरा गर्नुपर्ने भएकाले सहमति हुन नसकेको गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्कीले बताए।

Advertisement

सहिद घोषणा गर्ने विषयमा गृहमन्त्री सकारात्मक रहे पनि त्यसअघि पोस्टमार्टम हुनुपर्ने अडान गृह प्रशासनको छ। रविन्द्रको शरीरमा गोली लागेकाले त्यसको ब्यालेस्टिक जाँच पहिले गर्नुपर्ने माग परिवारको छ। तर गृह प्रशासनले पोस्टमार्टमपछि मात्र थप प्रक्रिया अघि बढाउने बताउँदै आएको छ।

मृतकका परिवारसँग गृहमन्त्री गुरुङले साउन १९ गते शिक्षण अस्पताल पुगेर र त्यसपछि गृह मन्त्रालयमै बोलाएर छलफल गरेका थिए। लगातार छलफल भए पनि सहिद घोषणा र दोषीलाई पक्राउ गर्नुपर्ने परिवारको अडानका कारण निष्कर्ष ननिस्किएको सुनसरी-२ का सांसद लालविक्रम थापाले बताए। सरकार पक्षले अन्य मृतकहरूसँगै एकैपटक सहिद घोषणा गर्ने प्रस्ताव गरे पनि परिवारले भने पहिला नै घोषणा हुनुपर्ने अडान राखेका छन्।

सुनसरी र सिराहामा भएको दङ्गामा परेर कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिराहा औरहीका गणेश यादवसहित ४ जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.