वरिष्ठ साहित्यकार डा. विमलको ७९ वर्षको उमेरमा निधन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार ०८:५३
वरिष्ठ साहित्यकार डा. विमलको ७९ वर्षको उमेरमा निधन

जनकपुरधाम । बहुआयामिक व्यक्तित्व एवं वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ । जनकपुरधामका विमलको सोमबार राति पौने १ बजे उपचारका क्रममा निधन भएको उनका कान्छा छोरा डा. विभास लाभले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार सोमबार राति साढे ११ बजेतिर कुराकानी गरिरहेकै अवस्थामा अचानक बिरामी परेका थिए । तत्कालै उपचारका लागि नजिकैको अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

Advertisement

डा. विमल नेपाली, मैथिली र अंग्रेजी भाषाका ज्ञाता थिए । यी तीनै भाषाका विभिन्न विधामा उनले दर्जनौँ कृतिहरू लेखेर नेपाली र मैथिली साहित्यलाई समृद्ध बनाए । भाषा विज्ञानमा विद्यावारिधि गरेका विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तरसमेत गरेका थिए ।

उनी २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको प्राध्यापनमा संलग्न रहँदै आएका थिए । उनको प्राज्ञिक र साहित्यिक योगदानको कदर गर्दै उनलाई नेपालको प्रतिष्ठित ‘जगदम्बा श्री पुरस्कार’, ‘मधुपर्क सम्मान’ लगायत थुप्रै राष्ट्रिय तथा क्षेत्रीय पुरस्कारबाट विभूषित गरिएको थियो ।

दिवङ्गत डा. विमलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१० देवी चोकस्थित उनकै निवासमा राखिएको छ । उनको अन्त्येष्टि आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा गरिने कार्यक्रम रहेको डा. विजय दत्तले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.