
विराटनगर । विराटनगरस्थित ब्राइटभिजन ल कलेजको आयोजनामा जारी ‘मूटकोर्ट’ (नमुना अदालत) प्रतियोगिताको फाइनलमा पुग्ने दुई समूहको टुंगो लागेको छ ।
गत साउन ३० गतेदेखि सुरु भएको प्रतियोगिताको समूह चरण, क्वाटर फाइनल र सेमिफाइनलका प्रतिस्पर्धा सम्पन्न भएसँगै अन्तिम दुई टोलीको टुंगो लागेको हो । आगामी भदौ ६ गते हुने फाइनल प्रतिस्पर्धामा समूह ‘बीभीएलसी ८१७’ र ‘बीभीएलसी ८०८’ बीच भिडन्त हुनेछ । बीभीएलसी ८१७ समूहमा रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतम रहेका छन् । त्यस्तै, बीभीएलसी ८०८ समूहबाट उन्नति पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउतले उपाधिका लागि बहस गर्ने छन् ।
प्रतियोगिताको फाइनल खेल भव्य रूपमा आयोजना गरिने कलेजले जनाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा उच्च अदालतका न्यायाधीशहरूको समेत उपस्थिति रहनेछ । विद्यार्थीहरूले काल्पनिक घटनालाई मुद्दाको रूप दिएर अदालतमा गरिने बहस र कानुनी प्रक्रियाको नमुना अभ्यास प्रदर्शन गर्नेछन् ।
कानुनका विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै अदालती कार्यविधि, बहस गर्ने शैली र मिसिल तयार गर्ने तरिका सिकाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले मूटकोर्ट अभ्यासले विद्यार्थीलाई दक्ष कानुन व्यवसायी बन्न मद्दत पुग्ने बताए ।
‘मूटकोर्टमा विद्यार्थीले अधिवक्ताको भूमिकामा रहेर मुद्दाका पक्ष–विपक्षमा बहस गर्ने, कानुनी आधार प्रस्तुत गर्ने र बहस नोट तयार गर्ने अभ्यास गर्छन्,’ आचार्यले भने, ‘यसले उनीहरूलाई न्यायिक प्रक्रियालाई नजिकबाट बुझ्न सहयोग पुर्याउँछ ।’
गत वर्ष १६ समूहले भाग लिएको यस प्रतियोगितामा यस वर्ष २६ वटा समूह सहभागी हुनुले विद्यार्थीमा मूटकोर्टप्रतिको रुचि र आकर्षण बढ्दै गएको पुष्टि हुन्छ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद १३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने समूहले ७ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने समूहले ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट बहसकर्ता र उत्कृष्ट बहस नोट जनही ४ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

























