
विराटनगर । कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव प्रदान गर्ने उद्देश्यले विराटनगरस्थित ब्राइट भिजन ल कलेजले आयोजना गरेको ‘मुटकोर्ट’ (नमुना अदालत) प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न भएको छ ।
गत साउन ३० गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको शुक्रबार एक समारोहका बीच समापन गरिएको हो । प्रतियोगिताको फाइनलमा विद्यार्थीहरूले ‘संगठित अपराध’ सम्बन्धी काल्पनिक मुद्दामा बहस गरेका थिए । फाइनल खेलमा उच्च अदालत विराटनगरका न्यायाधीशहरू महेन्द्रनाथ उपाध्याय, प्रकाश खरेल र रमादेवी पराजुलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमका मुख्य अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै मुटकोर्ट जस्ता अभ्यासले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । उनले प्रदेश सरकारले अदालती अभ्यासका लागि चालू आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको जानकारी दिँदै कानुनका विद्यार्थी हरेक क्षेत्रमा प्रतिस्पर्धी हुनुपर्नेमा जोड दिए ।
सामाजिक विकास मन्त्री गीता तिम्सिनाले दक्ष जनशक्ति उत्पादनमा ब्राइट भिजन कलेजले खेलेको भूमिकाको चर्चा गर्दै प्रदेश सरकारले सरकारी र निजी कलेजका विद्यार्थीबीच कुनै विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कलेजका प्रमुख एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले मुटकोर्टले विद्यार्थीमा अनुशासन, सिर्जनात्मक र विश्लेषणात्मक सोचको विकास गर्ने बताए । उनले प्रदेशका १३७ वटै स्थानीय तहमा कानुनी सञ्चारका लागि कानुनका विद्यार्थीलाई प्रयोग गर्न र सरकारी निकायमा इन्टर्नसिपको व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।
प्रतियोगितामा बीभीएलसी ८१७ (रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतम) को समूह प्रथम भएको छ । विजेता समूहले नगद १२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
त्यसैगरी, बीभीएलसी ८०८ (उन्नति पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउत) को समूह दोस्रो र आमोद वस्ती, सञ्जय घिमिरे, कविता पौडेल र रोजेन्स्की पोखरेल को समूह तेस्रो भए । उनीहरूले क्रमशः ७ हजार र ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा प्रतिष्ठा पोखरेल ‘उत्कृष्ट बहसकर्ता’ घोषित भइन् ।
विद्यार्थी नारायण चौलागाइँका अनुसार प्रतियोगितामा बीएएलएलवीका पाँच वटै सेमेस्टरका २५ समूह (१०० विद्यार्थी) सहभागी थिए । विद्यार्थीहरूले सुन चोरी, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान जस्ता काल्पनिक मुद्दाहरूमा बहस अभ्यास गरेका थिए । यो अभ्यासले मुद्दाको तयारी, कानुनी आधार खोजी र प्रभावकारी प्रस्तुतीकरणको सीप विकासमा ठुलो सहयोग पुगेको सहभागी विद्यार्थी मनिष सिग्देल र प्रतीक्षा चालिसेले बताए ।

























