
एजेन्सी। अमेरिकाले क्यानाडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका वस्तुमा ५० प्रतिशत शुल्क लगाएपछि दुई देशबीचको व्यापार तनाव पुनः चर्किएको छ। व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि अमेरिकाले लगाएको नयाँ शुल्क शनिबारदेखि लागू भएको हो।
जवाफमा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाबाट आयात हुने विभिन्न वस्तुमा ‘डलर बराबर डलर’का आधारमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेका छन्। क्यानाडाको नयाँ शुल्क आगामी सेप्टेम्बर ८ देखि लागू हुनेछ। स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय तथा घरेलु उपकरण, कृषि उपकरण, पल्प तथा कागज र इलेक्ट्रोनिक्सलगायत वस्तुमा शुल्क लगाइने जनाइएको छ।
अटावामा आयोजित पत्रकार सम्मेलनमा कार्नीले अमेरिकाले पछिल्ला दिनमा राखेका नयाँ सर्तहरू क्यानाडाका लागि आर्थिक रूपमा अव्यावहारिक र अनुचित भएको बताए। उनले सम्भावित व्यापार सम्झौताबाट क्यानाडाले पाउने फाइदामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको उल्लेख गरे। उनका अनुसार क्यानाडाले अमेरिकी मदिराजन्य उत्पादन पुनः आफ्ना पसलमा बिक्री गर्न दिने तथा अमेरिकाविरुद्ध लगाइएका केही प्रतिशोधात्मक शुल्क हटाउनेसम्मको प्रस्ताव गरेको थियो।
तर अटोमोबाइललगायत प्रमुख उद्योगका लागि आवश्यक आर्थिक सर्तमा अमेरिका सहमत नभएको क्यानाडाको भनाइ छ। महत्वपूर्ण खनिजमा अमेरिकालाई विशेष वा एकाधिकार पहुँच दिन नसकिने कार्नीले स्पष्ट पारे। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको समयसीमा तीन दिन सारेका थिए। उनले साताको सुरुआतमा क्यानाडासँग सम्झौता भएको दाबी गरे पनि अन्तिम दस्तावेजमा सहमति जुट्न सकेन।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भने क्यानाडाले सहमति भएका सर्तअनुसार सम्झौतालाई अन्तिम रूप दिन अस्वीकार गरेको आरोप लगाएका छन्। उनले क्यानाडाले नयाँ माग थप्नुका साथै यसअघि गरेका प्रतिबद्धताबाट पछि हटेको दाबी गरेका छन्।
क्यानाडाले प्रतिशोधात्मक शुल्क घोषणा गरेपछि अमेरिकाले पनि थप कदम चाल्ने संकेत दिएको छ। ग्रियरले क्यानाडाको कदमको जवाफमा अमेरिकी प्रतिकारात्मक उपाय अघि बढाइने बताए पनि त्यसको विवरण सार्वजनिक गरेका छैनन्। ट्रम्प पुनः राष्ट्रपति बनेयता अमेरिका–क्यानाडा व्यापार सम्बन्ध लगातार तनावपूर्ण बन्दै गएको छ।

























