
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन्। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क १ दशमलव ४ प्रतिशतले घटेको छ। टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ। सिड्नी, जकार्ता र बैङ्ककका बजारमा भने वृद्धि देखिएको छ। मनिला र क्वालालम्पुरका बजार स्थिर रहेका छन्।
कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो बढिरहेका बेला विश्वकै मूल्यवान कम्पनीमध्ये एक अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनप्रति पनि बजारको ध्यान केन्द्रित भएको छ। एआई प्रविधिको तीव्र विस्तारले कम्पनीहरूको उच्च लगानीलाई निरन्तरता दिन सक्ने वा नसक्ने विषयमा लगानीकर्ता आशावादी र चिन्तित दुवै देखिएका छन्।
एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनिसले एआई क्षेत्रमा लगानी जारी रहे पनि त्यसको लागत बढ्दै गएको बताएका छन्। उनका अनुसार एनभिडियाले ठूलो लगानीबाट पर्याप्त प्रतिफल प्राप्त गर्न सक्ने क्षमता प्रमाणित गर्नुपर्ने चुनौती छ।
चिनियाँ प्रविधि कम्पनी अलिबाबाले पनि एआई क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा १० दशमलव २ अर्ब अमेरिकी डलर बराबरको नयाँ सेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले उक्त रकम विश्वव्यापी एआई पूर्वाधार तथा प्रविधि विस्तारमा प्रयोग गर्ने जनाएको छ।
हङकङको सेयर बजार सोमबार दुई प्रतिशतभन्दा बढीले घटेको छ। ‘फास्ट फेसन’ कम्पनी शिनले आगामी सेप्टेम्बर १ मा हङकङमा सेयर सूचीकरण गर्ने घोषणा गरे पनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेन। कम्पनीको सूचीकरणपछि यसको मूल्याङ्कन करिब २७ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि थप आर्थिक दबाब बढाउने योजनाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने अपेक्षा गरिएको छ। अमेरिकाले आफ्ना सहयोगी राष्ट्र तथा चीनलाई समेत उक्त अभियानमा सहभागी हुन आग्रह गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानमाथि आर्थिक दबाब बढाउने योजनालाई ‘नाजुक नृत्य’ जस्तै भएको टिप्पणी गरेका छन्। अमेरिकी अर्थमन्त्री बेसेन्टले चीनलाई पनि अमेरिकी अभियानमा सहमत हुन आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य २ दशमलव ३ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ९२ अमेरिकी डलरमा झरेको छ। अमेरिकी कच्चा तेलको मूल्यमा पनि समान दरले गिरावट आएको छ।

























