
विराटनगर । पूर्वी पहाडका चार जिल्लालाई डाँडैडाँडा जोड्ने ‘लाइफलाइन’ मानिएको भेडेटार–रवि–राँके सडक निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । कालोपत्रेका लागि २०७५ सालमा ठेक्का सम्झौता भएको यो सडकको भौतिक प्रगति हालसम्म ७१ प्रतिशत मात्रै छ ।
आगामी कात्तिक ३ गते यस सडकको आठौँ पटक थपिएको म्याद सकिँदैछ, तर कामको गति हेर्दा यो अवधिमा पनि सडक पूर्ण हुनेमा अन्योल देखिएको छ ।
धनकुटाको भेडेटारदेखि पाँचथरको राँकेसम्मको १०० किलोमिटर लामो यो सडक पहाडको उच्च भूभाग (डाँडा) मा पर्छ । आयोजना प्रमुख आशुतोष कर्णका अनुसार भौगोलिक बनावट र मौसमका कारण काममा ढिलाइ भएको हो । ‘चिसो ठाउँ र निरन्तरको वर्षाका कारण ‘डिभिएसटी’ पिच गर्न प्राविधिक कठिनाइ भइरहेको छ,’ कर्णले भने । हालसम्म ४२ किलोमिटर खण्डमध्ये २२ किलोमिटरमा दोहोरो र २० किलोमिटरमा एक पत्र मात्र कालोपत्रे गरिएको छ ।
सम्झौता भएको सुरुवाती चार वर्षमा कोभिड–१९ महामारी, मुआब्जा विवाद, वन क्षेत्रको रुख कटान र बिजुलीका पोल सार्ने जस्ता समस्याले जम्मा १२ प्रतिशत मात्र काम भएको थियो । पछिल्लो चार वर्षमा ५८ प्रतिशत प्रगति भए पनि पहिरो र माटो कटानले पुनः चुनौती थपेको छ । इन्जिनियरहरूका अनुसार सडकको सुरुवाती डिजाइनमै केही समस्या रहेकाले पनि कामले सोचे जस्तो गति लिन नसकेको हो ।
२०७५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रवि बजारमा सडकको शिलान्यास गरेका थिए । सडक बनेपछि धनकुटाको चौबिसे र साँगुरीगढी, मोरङको केराबारी र लेटाङ, पाँचथरको फाल्गुनन्द र मिक्लाजुङ तथा इलामको देउमाई र फाकफोकथुमका बासिन्दाको जीवनस्तर फेरिने अपेक्षा थियो ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई भन्छन्, ‘यो सडकले यस क्षेत्रको पर्यटन र कृषिमा ठूलो क्रान्ति ल्याउन सक्छ, तर ढिलाइले स्थानीयमा आक्रोश बढ्दो छ ।’ सडक कालोपत्रे हुने आशमा बसेको धेरै वर्ष भयो, तर अधुरो कामले धुलो र हिलोको सास्ती मात्र दिएको स्थानीहरू बताउँछन् ।
यो सडकले धनकुटा, मोरङ, पाँचथर र इलामका दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नुका साथै पर्यटकीय विकासमा समेत कोसेढुंगा सावित हुने देखिएकाले सरोकारवालाहरूले काम चाँडो सक्न दबाब दिँदै आएका छन् ।

























