सशस्त्र गिरोहको आक्रमणमा ४७ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार २१:२१

एजेन्सी। हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ। घटनामा २२ जना घाइते भएका छन्।

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार मृतक तथा घाइतेको सङ्ख्या अझ बढ्न सक्ने जनाएको छ। आक्रमणपछि केन्स्कोफको सुरक्षा अवस्था थप गम्भीर बनेको संयुक्त राष्ट्रसङ्घीय एकीकृत कार्यालयले जनाएको छ।

Advertisement

हाइटी सरकारले घटनालाई ‘जघन्य आक्रमण’ भन्दै निन्दा गरेको छ। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनःस्थापित गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

प्रधानमन्त्री एलिक्स डिडियर फिल्स–एमेको कार्यालयले मृतक तथा घाइतेका परिवारप्रति समवेदना व्यक्त गर्दै केन्स्कोफलाई सरकारले त्याग्न नदिने जनाएको छ। सरकारी अधिकार पुनःस्थापित गर्न सुरक्षा निकायले तत्काल काम गर्ने प्रधानमन्त्री कार्यालयको भनाइ छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को सुरुआती दुई महिनामै केन्स्कोफमा भएका गिरोहका आक्रमणमा २६० भन्दा बढी मानिस मारिएका थिए। ती घटनामा करिब २०० घर ध्वस्त वा जलेका थिए भने करिब ३ हजार मानिस विस्थापित भएका थिए।

त्यसयता पनि केन्स्कोफमा अपहरण, आगजनी र गाईवस्तु चोरीलगायत १० भन्दा बढी आक्रमण भइसकेका छन्।

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा शक्तिशाली सशस्त्र गिरोहहरूले वर्षौंदेखि आफ्नो प्रभाव विस्तार गर्दै आएका छन्। स्रोतसाधन र हतियारको अभावमा रहेको प्रहरीलाई विदेशी मुलुकले सहयोग गर्दै आए पनि गिरोहहरूले राजधानी आसपासका क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका छन्।

राजनीतिक, आर्थिक तथा सुरक्षा सङ्कटबाट लामो समयदेखि गुज्रिरहेको हाइटीमा पछिल्ला वर्षहरूमा हिंसा थप तीव्र बनेको छ। हत्या, अपहरण, बलात्कार तथा बालबालिकाको जबर्जस्ती भर्तीका घटनाले नागरिक सुरक्षामा गम्भीर चुनौती थपिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×