नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा निधन, युवराज हाकोन बने नयाँ राजा

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १५:२७

काठमाडौं । नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। शाही दरबारका अनुसार उनको शुक्रबार बिहान ६ः३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा निधन भएको हो ।
राजा हेराल्डको निधनसँगै उनका ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेको दरबारले घोषणा गरेको छ।

राजा हेराल्ड गत अगस्ट १७ देखि  ‘हेमोलिटिक एनीमिया’ को उपचारमा थिए । उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन र युवराज्ञी मेट्टे–मेरिटसहित परिवारका अन्य सदस्यहरू अस्पताल पुगेका थिए ।
पछिल्ला केही वर्षदेखि उनी विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए । उनले मुटुमा पेसमेकरसमेत राखेका थिए र स्वास्थ्यकै कारण पछिल्लो समय आधिकारिक कार्यक्रमहरूमा आफ्नो उपस्थिति घटाउँदै लगेका थिए । यद्यपि, संसद्‌समक्ष ‘जीवनभर देशको सेवा गर्ने’ शपथ खाएका कारण उनले पदत्याग गर्न भने अस्वीकार गर्दै आएका थिए ।

Advertisement

सन् १९९१ मा सिंहासनमा बसेका राजा हेराल्ड नर्वेली जनतामाझ अत्यन्त लोकप्रिय थिए । उनलाई एक सरल, आत्मीय र सबैलाई समेट्ने ‘समावेशी राजाका रूपमा स्मरण गरिन्छ । उनको निधनको खबरपछि नर्वेको शाही दरबारमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ भने सर्वसाधारणले दरबारबाहिर फूल चढाएर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
राजाको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्वेका प्रधानमन्त्री जोनास गह्र स्टोरले आफ्नो जर्मनीको कार्य भ्रमणसमेत रद्द गरेका थिए ।

राजा हेराल्डको निधन यस्तो समयमा भएको छ, जब शाही परिवार विभिन्न स्वास्थ्य समस्या र विवादहरूको सामना गरिरहेको छ। रानी सोन्जा पनि हालै मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै, नयाँ राजा हाकोनकी पत्नी मेट्टे–मेरिटको जेफ्री एपस्टिनसँगको पुरानो सम्बन्धलाई लिएर विवाद उत्पन्न भएको थियो । त्यसैगरी, उनका छोरा मारियस बोर्ग होइबीलाई बलात्कारलगायतका ३२ वटा अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको छ, जसका विरुद्ध उनले पुनरावेदन गरेका छन् ।
यी पारिवारिक चुनौतीहरूका बीच अब ५३ वर्षीय राजा हाकोनले नर्वेको राजसंस्थाको जिम्मेवारी सम्हाल्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×