होर्मुज तनाव चर्कियो, लारक द्वीपमा अमेरिकी प्रहारपछि इरानको जवाफी कारबाही

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ०६:५८

एजेन्सी । इरान र अमेरिकाबीचको सैन्य तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरलाई निशाना बनाएपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का प्रवक्ता कमाण्डर टिम हकिन्सका अनुसार इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)का सैन्य गतिविधि निगरानी गर्ने क्रममा लारक द्वीपमा रहेका दुईवटा लन्चर फेला परेका थिए । ती लन्चरबाट होर्मुज जलडमरूमध्यमा रकेट प्रहार गर्नुका साथै समुद्री माइन राख्ने तयारी भइरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको उनको भनाइ छ ।

Advertisement

गत जुलाईको अन्त्ययता इरानमाथि अमेरिकाले गरेको यो पहिलो प्रत्यक्ष सैन्य प्रहार भएको बताइएको छ । आक्रमणमा आफ्ना केही सदस्यको मृत्यु र केही घाइते भएको आईआरजीसीले पुष्टि गरेको छ । उसले अमेरिकी कारबाहीको जवाफ दिने चेतावनीसमेत दिएको छ ।

त्यसपछि जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनामाथि इरानले क्षेप्यास्त्र प्रहार गरेको दाबी इरानी सरकारी सञ्चारमाध्यमले गरेका छन् । इरानले जोर्डनको किङ हुसेन र अल–अज्राक क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरेको बताइएको छ ।

यता जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्रलाई निस्तेज पारेको जनाएको छ । आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

होर्मुज जलडमरूमध्यमा इरानको गतिविधिलाई लिएर अमेरिका र तेहरानबीच पछिल्लो समय विवाद बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता इरानले जलडमरूमध्यमा राखेका सबै समुद्री माइन हटाइसकेको दाबी गरेका थिए । उनले भविष्यमा त्यहाँ नयाँ माइन राख्ने कुनै पनि जहाज वा डुंगालाई नष्ट गरिने चेतावनीसमेत दिएका थिए ।

तर, इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै त्यसलाई ‘प्रचारबाजी’ भनेका छन् । इरानले होर्मुज क्षेत्रबाट जाने तेल ट्यांकरलाई नियन्त्रणमा लिँदै प्रतिजहाज २० लाख अमेरिकी डलरसम्म शुल्क लिइरहेको बताइएको छ ।

आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले लारक द्वीपमा गरिएको अमेरिकी आक्रमणलाई ट्रम्प प्रशासनको ‘रणनीतिक र घातक गल्ती’को संज्ञा दिएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

यसैबीच, इरानले गरेको भनिएको जवाफी क्षेप्यास्त्र प्रहारले क्षेत्रीय तनाव अझ बढाउने संकेत देखिएको छ । विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा जारी अवरोधका कारण अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमासमेत असर परेको छ ।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि व्यापक सैन्य आक्रमण सुरु गरेपछि जारी द्वन्द्वले छ महिना पूरा गरिसकेको छ । पछिल्लो अमेरिकी आक्रमण र त्यसको जवाफमा भएको भनिएको इरानी क्षेप्यास्त्र प्रहारले युद्ध थप फैलिन सक्ने जोखिम बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×