
एजेन्सी । यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच भएको भीषण भिडन्तमा कम्तीमा ८१ लडाकू मारिएको दाबी गरिएको छ । सैन्य तथा चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै सरकारी पक्षले हुथीतर्फ ४२ र सरकारी फौजतर्फ ३९ जनाको मृत्यु भएको जनाएको छ ।
लाल सागरको तटीय क्षेत्र र ताइज आसपासमा भएको भिडन्त हुथीहरूले रकेट, ड्रोन तथा स्थल आक्रमण गरेपछि चर्किएको बताइएको छ । सरकारी स्रोतका अनुसार हुथीहरूले रणनीतिक बन्दरगाह सहर मोखालाई सरकारी नियन्त्रणमा रहेका अन्य क्षेत्रबाट अलग पार्दै बाब अल–मन्दब जलडमरू आसपास अघि बढ्ने प्रयास गरिरहेका छन् । पछिल्लो भिडन्तमा मोखा र ताइज जोड्ने क्षेत्रमा पनि ठूलो लडाइँ भएको सैन्य स्रोतले जनाएको छ ।
बाब अल–मन्दब लाल सागरको दक्षिणी प्रवेशद्वारमा रहेको महत्वपूर्ण जलमार्ग हो। यहाँको सैन्य तनावले यमनको द्वन्द्वसँगै अन्तर्राष्ट्रिय समुद्री व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ । एक दशकभन्दा लामो गृहयुद्धमा फसेको यमनमा सन् २०२२ मा भएको युद्धविराम कमजोर बनेपछि पछिल्ला महिनामा सैन्य तनाव फेरि बढेको छ ।
हुथी विद्रोहीले राजधानी सानासहित देशको ठूलो भूभाग नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले समर्थन गर्दै आएको छ । पछिल्लो समय ताइज, मोखा र लाल सागरको पश्चिमी तट क्षेत्रमा हुथी र सरकारी फौजबिचको भिडन्त तीव्र बनेको छ। सरकारी पक्षले हुथीहरूको आक्रमण रोक्न आफ्नो फौज परिचालन गरेको जनाएको छ ।

























