
विराटनगर । सडकभरि उर्लिएका श्रद्धालुको भिड । आकाश गुञ्जाउने राधेकृष्णका भजन–कीर्तन । रंगीचंगी धार्मिक झाँकी र त्यसको अगाडि बिस्तारै अघि बढिरहेको विशाल रथ ।
ऐतिहासिक नगरी विराटनगर फेरि एकपटक यही शैलीमा आफ्नो धार्मिक तथा सांस्कृतिक गौरवको परिचय दिन तयार भएको छ ।
श्रीकृष्ण जन्माष्टमी र त्यसको भोलिपल्ट निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी पूरा भएसँगै विराटनगर अहिले भक्तिमय बनेको छ । शुक्रबार अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)को आयोजनामा जन्माष्टमी महोत्सव हुँदैछ भने शनिबार ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदैछ ।
नेपालका विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत गरी यसपटक पाँच लाखभन्दा बढी भक्तजन विराटनगर आउने अनुमान गरिएको छ । ठूलो जनसहभागिता हुने भएकाले रथयात्रा व्यवस्थापनमा आयोजकदेखि सुरक्षा निकायसम्म सबै जुटेका छन् ।
यसपटकको रथयात्राको विशेषता भिड र भव्यतामा मात्र सीमित छैन । धार्मिक पर्वको मौलिकता जोगाउने प्रयासका कारण पनि यो रथयात्रा विगतभन्दा फरक देखिने भएको छ ।
डीजे बन्द, भजन र कीर्तनलाई प्राथमिकता
पछिल्ला केही वर्षमा धार्मिक तथा सांस्कृतिक पर्वमा आधुनिक संगीत र चर्को डीजे साउन्डको प्रयोग बढ्दै गएको थियो । मनोरञ्जनका नाममा बज्ने चर्को संगीतले पर्वको मौलिक धार्मिक वातावरण नै ओझेलमा पर्न थालेको गुनासो पनि बढ्दै गएको थियो । यसपटक भने राधाकृष्ण रथयात्रामा डीजे साउन्ड पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार धार्मिक पर्वको मौलिकता र अध्यात्म जोगाउन यस्तो निर्णय गरिएको हो । उनका अनुसार यसपटक रथयात्राको मुख्य आकर्षण परम्परागत झाँकी, स्थानीय भजन मण्डलीका भजन–कीर्तन र रथमा राखिएका दुईवटा हर्न माइकबाट घन्किने भगवानका भजन हुनेछन् ।
अर्थात्, यसपटक विराटनगरका सडकमा चर्को डीजेको आवाजभन्दा राधेकृष्णका भजन र कीर्तन बढी सुनिने रेग्मी बताउँछन् । आयोजकले यो प्रयासलाई रथयात्राको पुरानो धार्मिक स्वरूपलाई पुनः बलियो बनाउने अभियानका रूपमा लिएको छ ।
खट यात्रादेखि भव्य रथयात्रासम्म
विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास लामो छ । विक्रम संवत १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट यो धार्मिक परम्परा सुरु भएको थियो । २०२५ देखि यसलाई भव्य रथयात्राका रूपमा अघि बढाइएको हो । त्यसयता राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक पर्व मात्र नभएर सहरकै साझा सांस्कृतिक पहिचानका रूपमा स्थापित भएको छ । खटयात्राको हिसाबले ९५ औँ हुन्छ । रथयात्रा भने ५९ औँ हो ।
वर्षौंदेखि पुस्तौंपुस्ताले निरन्तरता दिँदै आएको यो रथयात्रामा विराटनगरवासी मात्र होइन, नेपालका विभिन्न ठाउँ र भारतका सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालु सहभागी हुँदै आएका छन् । यसपटक पनि ठूलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष रेग्मीको भनाइ छ ।
८ किलोमिटरको यात्रा, ४४ ठाउँमा विश्राम
शनिबार निकालिने राधाकृष्ण रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ । रथयात्रा तीनपैनी चोक हुँदै गोल्छा चोक पुग्नेछ। त्यसपछि मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढ्नेछ ।
त्यसपछि बरगाछी हुँदै पूर्वतर्फ लागेर दुर्गा चोक पुग्ने र पुनः राधाकृष्ण मन्दिरमै फर्किएर रथयात्रा सम्पन्न हुनेछ । रथयात्राले करिब ८ किलोमिटर दूरी पार गर्नेछ। यात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था मिलाइएको छ ।

रथयात्राको लामो यात्रामा हजारौँ भक्तजन र श्रद्धालु सहभागी हुने भएकाले व्यवस्थापनलाई चुनौतीपूर्ण मानिएको छ । त्यसका लागि आयोजक, स्वयंसेवक र सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् ।
रथयात्राको भेटी बाढीपीडितलाई
यसपटकको रथयात्रा धार्मिक आस्था र सांस्कृतिक उत्सवमा मात्र सीमित रहने छैन । विपदमा परेका नागरिकलाई सहयोग गर्ने अभियानसँग पनि यसलाई जोडिएको छ । रथयात्राका क्रममा संकलन हुने सम्पूर्ण भेटी रकम बाढीपीडितको राहतका लागि प्रयोग गरिने भएको छ ।
त्यस्तै, नगर परिक्रमा गराइने तीनवटा दानपेटिकाबाट संकलन हुने रकम पनि भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ । यसले धार्मिक आस्थासँगै मानवीय सेवाको भावनालाई पनि रथयात्रासँग जोड्नेछ ।
विपदका कारण ठूलो जनधनको क्षति भएका बेला रथयात्राबाट संकलित रकम पीडितको राहतमा प्रयोग गर्ने निर्णयले यसपटकको उत्सवलाई थप अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
पाँच लाख भक्तजन आउने अनुमान, सुरक्षा व्यवस्था कडा
राधाकृष्ण रथयात्रामा यसपटक करिब पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ । नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत श्रद्धालु विराटनगर आउने अपेक्षा गरिएको छ । ठूलो संख्यामा मानिसको उपस्थिति हुने भएकाले सहरको सुरक्षा, यातायात र भिड व्यवस्थापन मुख्य चुनौती बनेको छ ।
आयोजकका अनुसार सुरक्षा तथा व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ । त्यसबाहेक ठूलो संख्यामा स्वयंसेवक पनि विभिन्न स्थानमा खटिनेछन् । रथयात्राको गतिविधि र भिडको अवस्थाका बारेमा जानकारी लिन आकाशबाट ड्रोनमार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
उनका अनुसार रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘पोसाक र हतियारसहितका तथा सादा पोसाकका सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिनेछ । रथयात्रालाई अवरोध गर्ने, कुनै आपराधिक काम गर्ने, उच्छृङ्खल एवं अवाञ्छित गतिविधि गर्नेहरुलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने छ,’ एसपी कटवालले भने ।
उनका अनुसार सुरक्षा व्यवस्था कडा पारिएका कारण रथयात्रामा उच्छृङ्खल एवं अवाञ्छित गतिविधि गर्नेहरुलाई तत्काल नियन्त्रणमा लिइने छ । साथै, भिडभाडमा बालबच्चा लिएर, नगद बोकेर र गरगहना लगाएर नजान तथा आफ्नो र सामानको सुरक्षामा ध्यान दिन पनि प्रहरीले सबैमा आग्रह गरेको छ । त्यस्तो कुनै समस्यामा परेमा तत्काल प्रहरीलाई खबर गर्न एसपी कटवालले आग्रह गरेका छन् ।
तयारी पूरा, समिति र उपसमिति गठन
रथयात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको छ । विराटनगरका सडक तथा पूर्वाधार व्यवस्थापनको काम सबै सकिएको आयोजकले जनाएको छ । रथयात्रा सञ्चालन हुने सडक मर्मत गरिएको छ । विद्युत, इन्टरनेट तथा टेलिफोनका लत्रिएका तार व्यवस्थापन गर्ने काम सकिएको अध्यक्ष रेग्मीले बताए ।
उनका अनुसार रथयात्राको क्रममा ठूलो रथ सडकमा अघि बढ्ने भएकाले तार तथा सडकको अवस्थालाई विशेष ध्यान दिइएको छ । भक्तजनको ठूलो भिड हुने भएकाले कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा र व्यवस्थापनमा विशेष सतर्कता अपनाइएको उनको भनाइ छ ।
रथयात्रालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि १ हजार १ सदस्यीय मूल समारोह समिति र विभिन्न २१ वटा उपसमिति गठन गरिएको छ । उपसमितिहरुलाई विभिन्न जिम्मेवारी दिएर परिचालन गरिएको छ ।
अध्यक्ष रेग्मीका अनुसार मूल समारोह समितिअन्तर्गत विभिन्न उपसमिति बनाइएको हो । रथमार्ग संकेत, झाँकी, रथ श्रृंगार, स्वास्थ्य तथा प्राथमिक उपचार, प्राविधिक, स्वयंसेवक, प्रसाद व्यवस्थापन, पिउने पानी व्यवस्थापन उपसमिति, फोहोर व्यवस्थापन, समाजिक सञ्जाल, प्रचारप्रसार तथा सञ्चार लगायतका उपसमितिहरु गठन गरिएको उनले बताए । त्यस्तै, अध्ययन तथा अनुसन्धान, मन्दिर श्रृंगार, विद्युत व्यवस्थापन, ब्राह्मण व्यवस्थापन, स्वागत सम्मान व्यवस्थापन, पूजा तथा धार्मिक लगायतका उपसमितिहरु बनाइएको छ ।
भक्तजनको सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत, सञ्चार तथा अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन उपसमितिहरूलाई जिम्मेवारी तोकेर परिचालन गरिएको छ । रथयात्रा भदौ २० गते शनिबार दिउँसो ३ बजे विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट निकालिने छ ।
जन्माष्टमीमा १५ हजारलाई महाप्रसाद
राधाकृष्ण रथयात्राको पूर्वसन्ध्यामा इस्कोनले जन्माष्टमी महोत्सव आयोजना गरेको छ । महोत्सवमा करिब १५ हजार भक्तजनलाई महाप्रसाद वितरण गर्ने तयारी गरिएको छ । यस अवसरमा भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति विशेष श्रद्धाञ्जली अर्पण गर्दै प्रार्थना पनि गरिनेछ ।
जन्माष्टमीका अवसरमा धार्मिक कार्यक्रम, भजन–कीर्तन र प्रार्थनासँगै विपद्मा ज्यान गुमाएकाप्रति सम्मान व्यक्त गर्ने तयारी गरिएको हो ।
पुरानै धार्मिक स्वरूप फर्काउने प्रयास
विराटनगरको राधाकृष्ण रथयात्रा एउटा धार्मिक जुलुस मात्रै हैन । यो सहरको लामो धार्मिक र सांस्कृतिक इतिहाससँग जोडिएको पर्व हो । पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यमले पर्वको मौलिकता प्रभावित भइरहेको गुनासोबीच यसपटक डीजे साउन्डमा प्रतिबन्ध लगाइएको छ । आयोजकले भजन, कीर्तन, धार्मिक झाँकी र भक्तिभावलाई प्राथमिकता दिएको छ ।
रथयात्रामा सहभागी हुने श्रद्धालुले यसपटक चर्को संगीतको सट्टा भजन–कीर्तन सुन्न पाउनेछन् । यसले रथयात्रालाई धार्मिक तथा सांस्कृतिक पर्वको पुरानै स्वरूपमा फर्काउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
पुस्तौंदेखि निरन्तर चल्दै आएको यो परम्परा यसपटक धर्म, संस्कृति र मानवीय सेवाको सन्देशसहित अघि बढ्ने भएको छ । विराटनगरका सडकमा शनिबार निस्कने विशाल रथसँगै लाखौँ पाइला अघि बढ्दा सहर फेरि एकपटक राधेकृष्णको भजनले गुञ्जिनेछ । भक्तजनको भिड, धार्मिक झाँकी र भजन–कीर्तनबीच सम्पन्न हुने ५९औँ राधाकृष्ण रथयात्राले विराटनगरको पुरानो धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने आयोजकले जनाएको छ ।

























