फकल्यान्डको तेल उत्खनन रोक्न अर्जेन्टिनाको तयारी, ट्रम्पको अभिव्यक्तिले बढायो तनाव

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १०:२०

काठमाडौं । फकल्यान्ड टापुलाई लिएर अर्जेन्टिना र बेलायतबीच दशकौँदेखि जारी सार्वभौमसत्ताको विवाद फेरि चर्किएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्यान्डसम्बन्धी अमेरिकाको लामो समयदेखिको नीतिमा पुनर्विचार हुन सक्ने संकेत दिएपछि अर्जेन्टिनाले टापु आसपास भइरहेको तेल उत्खनन रोक्न कडा कदम चाल्ने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले फकल्यान्ड टापु ऐतिहासिक र कानुनी रूपमा अर्जेन्टिनाकै भू–भाग भएको दाबी गर्दै टापु नजिक तेल उत्खननमा संलग्न कम्पनीमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेका छन् ।

Advertisement

उनका अनुसार अर्जेन्टिनाको दाबीलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय परिस्थितिमा पछिल्लो समय परिवर्तनका संकेत देखिएका छन् । फकल्यान्ड टापु सन् १८३३ देखि बेलायतको नियन्त्रणमा छ । टापुको सार्वभौमसत्तालाई लिएर अर्जेन्टिना र बेलायतबीच सन् १९८२ मा युद्धसमेत भएको थियो । उक्त युद्धमा ६४५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो ।

मिलेईले फकल्यान्डको तटबाहिर सञ्चालन भइरहेको तेल परियोजनालाई अर्जेन्टिनाका लागि ‘ठोस र तत्काल खतरा’ भनेका छन् । परियोजनामा इजरायली कम्पनी नवितास पेट्रोलियम र बेलायती कम्पनी रकहपर एक्सप्लोरेसन संलग्न छन् । अर्जेन्टिनाको अनुमति नलिई तेल उत्खननको तयारी अघि बढाइएको भन्दै मिलेईले हाइड्रोकार्बन उत्खननमा संलग्न कम्पनीलाई सेवा दिने व्यवसायमाथिसमेत प्रतिबन्ध लगाउने कानुन संशोधनको तयारी गरेका छन् ।

उनले तत्काल कदम नचाले केही महिनामै समुद्रमुनिको तेल भण्डार निकाल्ने भौतिक क्षमता कम्पनीहरूसँग हुने चेतावनी दिएका छन् । तर, सम्बन्धित कम्पनीहरूले फकल्यान्ड सरकारबाट वैध अनुमति प्राप्त भएको र बेलायतको निरन्तर समर्थन रहेकाले राजनीतिक घटनाक्रमले आफ्नो गतिविधिमा असर नपर्ने बताएका छन् ।

अर्जेन्टिनाको कदमप्रति बेलायतले कडा प्रतिक्रिया जनाएको छ । बेलायती विदेशमन्त्री एड मिलिब्यान्डले फकल्यान्डप्रतिको बेलायतको प्रतिबद्धता अडिग रहेको बताएका छन् । उनले फकल्यान्डका बासिन्दाको आत्मनिर्णयको अधिकार अन्तर्राष्ट्रिय कानुनमा आधारित रहेको दाबी गर्दै टापुहरू बेलायती नै रहेको र त्यस्तै रहने बताएका छन् ।

फकल्यान्ड बेलायतका १४ ओभरसिज टेरिटोरी (क्षेत्र)मध्ये एक हो । टापुले आफ्नै कर प्रणाली सञ्चालन गरे पनि रक्षा र विदेश नीतिका विषयमा बेलायतमा निर्भर छ ।

यसैबीच, ट्रम्पले बेलायती सञ्चारमाध्यम जीबी न्यूजसँगको अन्तर्वार्तामा भविष्यमा फकल्यान्डलाई लिएर बेलायत र अर्जेन्टिनाबीच युद्ध भए अमेरिका बेलायतको पक्षमा सैन्य रूपमा उत्रिने हो कि होइन भन्ने प्रश्नमा स्पष्ट जवाफ दिएका छैनन् । उनले सन् १९८२ को युद्धमा बेलायतले गरेको सैन्य कारबाहीको प्रशंसा गरे पनि फकल्यान्ड निकै टाढा रहेको भन्दै भविष्यमा अमेरिकी सहयोगका बारेमा प्रतिबद्धता जनाएनन् ।

ट्रम्पको अभिव्यक्तिलाई मिलेईले भने अर्जेन्टिनाप्रतिको अमेरिकी नीतिमा सम्भावित परिवर्तनको संकेतका रूपमा स्वागत गरेका छन् । फकल्यान्डका बासिन्दाले सन् २०१३ को जनमतसंग्रहमा ९९ प्रतिशतभन्दा बढी मतसहित बेलायती शासनमै रहने पक्षमा मतदान गरेका थिए । तर, मिलेईले त्यस्तो जनमतसंग्रहलाई सार्वभौमसत्ताको आधार मान्न नसकिने दाबी गर्दै आएका छन् ।

यसरी तेल उत्खनन, अर्जेन्टिनाको नयाँ प्रतिबन्ध योजना र ट्रम्पको अस्पष्ट अभिव्यक्तिले दक्षिण एट्लान्टिकमा रहेको फकल्यान्ड विवादलाई फेरि अन्तर्राष्ट्रिय कूटनीतिक बहसको केन्द्रमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
भोटेकोशी बाढी : विपद् मात्रै कि जलवायु परिवर्तनको संकेत ?
मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री
‘राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक’
फकल्यान्डको तेल उत्खनन रोक्न अर्जेन्टिनाको तयारी, ट्रम्पको अभिव्यक्तिले बढायो तनाव
पीडितको दुःखलाई प्रदर्शन होइन, पुनर्निर्माणको शक्तिमा बदल्नुपर्छ
क्यानाडाको प्रान्तीय सरकारद्वारा बाढीपीडितका लागि ५० हजार डलर सहयोग
ड्रोनमार्फत बाढी प्रभावित क्षेत्रमा राहत
प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×