सुरुङभित्र थुनिएको एउटा काल्पनिक मानिसको मनोवाद

Share this
695shares
मुलुकी खबर
ईश्वर अर्याल
clock२०८३ भाद्र २०, शनिबार १२:१४
प्रतीकात्मक तस्बिर
मलाई अहिले अँध्यारोसँग डर लाग्दैन ।
डर लाग्न पनि उज्यालोको सम्झना बाँकी हुनुपर्दोरहेछ ।
सुरुका दिनमा आँखा चिम्लिँदा अँध्यारो हुन्थ्यो, खोल्दा पनि अँध्यारो । अहिले आँखा खुलेका छन् कि बन्द छन्, छुट्याउन औँलाले परेला छाम्नुपर्छ ।
आज दशौँ दिन हो कि होइन, मलाई थाहा छैन ।
मैले दिन गनेको हुँ ।
पहिलो दिन औँलाले भित्तामा एउटा धर्को कोरेँ । दोस्रो दिन अर्को । त्यसपछि अर्को ।
सातौँ कि आठौँ दिनमा औँलाले भित्ता भेट्न छाड्यो । शरीरले पनि दिन गन्न छाड्यो ।
तर मनले भनेको छ, आज दशौँ दिन हो ।
सायद मनलाई पनि बाँचिरहन एउटा मिति चाहिँदोरहेछ ।
____
त्यो आवाज अझै कानमा छ ।
पहिले टाढाबाट पहाड गर्जिएजस्तो भयो ।
त्यसपछि पानी ।
त्यसपछि ढुंगा ।
त्यसपछि लेदो ।
अनि मानिसहरू कराएको आवाज ।
‘भाग… भाग…!’
कता भाग्ने?
सुरुङमा भाग्नु भनेको अँध्यारोतिर दौडिनु हो ।
म पनि दौडिएँ ।
पछाडि फर्केर हेर्न सकिनँ । कसले कसलाई बोलायो, को लड्यो, को बग्यो, केही थाहा भएन ।
एकछिनपछि पछाडिबाट आएको आवाज अचानक रोकियो ।
त्यो मौनता नै सबैभन्दा डरलाग्दो थियो ।
त्यस दिन पहिलोपटक मैले थाहा पाएँ, ठूलो आवाजभन्दा आवाज एकाएक बन्द हुनु भयानक हुँदोरहेछ ।
____
पहिलो दिन ।
मलाई विश्वास थियो, उनीहरू आउँछन् ।
बाहिर मेरा साथीहरू छन् । इन्जिनियर छन् । सेना आउला । प्रहरी आउला । मेसिन आउला ।
यो सुरुङ उनीहरूले बनाएका हुन् । यसको नक्सा उनीहरूसँग छ ।
म कहाँ छु, उनीहरूले पत्ता लगाउँछन् ।
मैले पटकपटक कराएँ ।
‘म यहाँ छु…!’
आफ्नै आवाज फर्किएर आयो ।
‘…यहाँ छु… यहाँ छु…’
त्यो प्रतिध्वनिले केहीबेर मलाई अर्को मानिस पनि जीवित छ कि जस्तो लाग्यो ।
मैले फेरि बोलाएँ ।
‘कोही छ?’
उत्तर आयो,
‘…कोही छ…’
म हाँसेँ ।
आफ्नै आवाजसँग झुक्किएको मानिस कस्तो देखिँदो हो?
अँध्यारोले धन्न मेरो अनुहार देखेन ।
___
दोस्रो दिन ।
तिर्खा लाग्यो ।
भोकभन्दा तिर्खा निर्दयी हुँदोरहेछ ।
भोक पेटमा बस्छ । तिर्खा जिब्रोबाट सुरु भएर टाउकोभित्र पस्छ ।
भित्ताबाट चुहिएको पानी मैले हातमा थापेर पिएँ ।
त्यो पानी सफा थियो कि थिएन, सोचिनँ ।
बाँच्न चाहने मानिसले पानीको प्रयोगशाला खोज्दैन ।
मैले आमालाई सम्झिएँ ।
सानो हुँदा आमा भन्थिन्, ‘पानी बिस्तारै खा बाबु ।’
मलाई हाँसो उठ्यो ।
आमा, आज पनि म बिस्तारै नै खाइरहेको छु ।
एकएक थोपा ।
__
तेस्रो दिन ।
मलाई रिस उठ्यो ।
कसम, असाध्यै रिस उठ्यो ।
किन आएनन्?
यति ठूलो देश छ । सरकार छ । सेना छ । हेलिकप्टर छन् । ठूला मेसिन छन् ।
मानिसलाई चन्द्रमासम्म पुर्याउने संसारले केही मिटर माटोभित्रको मलाई किन भेट्न सक्दैन?
मैले भित्तामा लात हानेँ ।
दुख्यो ।
फेरि हानेँ ।
अझ दुख्यो ।
अन्तिममा थाहा भयो, म भित्तालाई होइन, आफ्नै बाँकी शक्तिलाई पिटिरहेको रहेछु ।
म बसेँ ।
र पहिलोपटक रोएँ ।
मानिस अरूका अगाडि रुँदा आँसु लुकाउँछ ।
यहाँ कसैसँग लुकाउनुपर्ने थिएन ।
तर अचम्म, आँसु धेरै आएन ।
सायद शरीरले पानी बचाइरहेको थियो ।
____
चौथो दिन ।
मेरी छोरी आइन् ।
साँच्चै होइन ।
मेरो टाउकोभित्र ।
स्कुलको पोसाक लगाएकी थिई ।
‘बाबा, फर्किने बेला चकलेट ल्याउनु है ।’
त्यो उसले मलाई अन्तिमपटक भनेकी थिई कि मैले अहिले बनाएको सम्झना हो?
म छुट्याउन सकिनँ ।
मैले उसलाई भनेँ, ‘ल्याउँछु ।’
ऊ गई ।
म अँध्यारोमा धेरै बेर मुस्कुराइरहेँ ।
त्यसपछि अचानक डर लाग्यो ।
यदि म फर्किनँ भने?
उसले केही दिन ढोका हेर्ली ।
त्यसपछि आमालाई सोध्ली, ‘बाबा कहिले आउनुहुन्छ?’
के उत्तर देली उसकी आमा?
‘बाबा सुरुङभित्र हुनुहुन्छ’?
कि,
‘बाबा अब आउनुहुन्न’?
मलाई मृत्युभन्दा त्यो प्रश्नसँग डर लाग्यो ।
____
पाँचौँ दिन ।
मैले भगवानलाई बोलाएँ ।
म धेरै धार्मिक मानिस होइन ।
बाहिर हुँदा भगवानका लागि समय थिएन । बिहान हतार, दिनभरि काम, बेलुका थकाइ ।
आज समय मात्रै छ ।
मैले सबैलाई सम्झिएँ ।
पशुपतिनाथ ।
बुद्ध ।
अल्लाह ।
जिसस ।
मलाई जसले सुन्छ, उसैलाई भनेँ,
‘मलाई निकाल ।’
त्यसपछि आफैँलाई लाज लाग्यो ।
बाहिर हुँदा केही नमाग्ने मानिस मृत्यु नजिक आएपछि किन यति स्वार्थी हुँदोरहेछ?
मैले प्रार्थना सच्याएँ ।
‘मलाई मात्रै होइन । यहाँ कोही अरू पनि जीवित छ भने उसलाई पनि निकाल ।’
केहीबेरपछि फेरि सच्याएँ ।
‘पहिले उसलाई निकाले पनि हुन्छ ।’
त्यो भनेपछि मन अलिक हलुका भयो ।
सायद मानिस मर्न डराएको बेला पनि थोरै राम्रो मानिस बन्न सक्दोरहेछ ।
___
छैटौँ दिन ।
आज आवाज आएको थियो ।
मलाई त्यस्तै लाग्यो ।
टक… टक…
म उठेँ ।
कान भित्तामा टाँसेँ ।
फेरि ।
टक…
मैले ढुंगाले भित्तामा हानेँ ।
टक! टक! टक!
‘म यहाँ छु!’
घाँटीले साथ दिएन ।
‘यहाँ…’
मलाई लाग्यो, बाहिरबाट कसैले खन्दैछ ।
म पागलजस्तो भित्तामा हानिरहेँ ।
हातबाट रगत आयो ।
आवाज फेरि आएन ।
त्यो मेसिन थियो?
ढुंगा खसेको थियो?
कि मेरो मुटुको आवाज भित्ताले फर्काएको थियो?
थाहा भएन ।
तर त्यस रात म निदाइनँ ।
उनीहरू आउँदैछन् भन्ने विश्वास निद्राभन्दा ठूलो थियो ।
___
सातौँ दिन ।
आज मैले मृत्युसँग कुरा गरेँ ।
ऊ कस्तो हुन्छ भनेर सोच्थेँ ।
कालो?
डरलाग्दो?
हातमा हतियार बोकेको?
होइन रहेछ ।
मृत्यु त थकाइ भएर आउँदोरहेछ ।
‘अब सुत्,’ भन्दोरहेछ ।
‘धेरै भयो ।’
शरीरले पनि उसको कुरा मान्न खोज्छ ।
बसिरहन गाह्रो हुन्छ । आँखा खोलिरहनुको अर्थ हुँदैन ।
मैले आफैँलाई चिमोटेँ ।
छोरीको नाम बोलाएँ ।
श्रीमतीको नाम बोलाएँ ।
आमाको नाम बोलाएँ ।
मानिसको जीवन आखिर केही नामहरूको संग्रह रहेछ ।
अन्तिम बेला सम्पत्ति सम्झिँदैन ।
बैंकको खातामा कति छ, सम्झिँदैन ।
कसले सम्मान गर्यो, कसले अपमान, सम्झिँदैन ।
उसलाई केही अनुहार घर फर्किन बोलाइरहेका हुन्छन् ।
____
आठौँ दिन ।
मैले आफूलाई बाहिर पुगेको देखेँ ।
घाम थियो ।
कस्तो अनौठो, सपनामा घामको ताप पनि महसुस भयो ।
माटोको गन्ध आयो ।
कसैले पानी दियो ।
मैले छोरीलाई अँगालो हालेँ ।
ऊ रोई ।
म पनि रोएँ ।
त्यसपछि आँखा खुले ।
अँध्यारो ।
मैले हात फैलाएँ ।
छोरी थिइन ।
त्यो दिन पहिलोपटक मलाई आशासँग रिस उठ्यो ।
आशा पनि कहिलेकाहीँ क्रूर हुँदोरहेछ ।
उसले पहिले बाहिर निकाल्छ ।
घाम देखाउँछ ।
आफ्ना मान्छे भेटाउँछ ।
अनि अचानक फेरि सुरुङमै फ्याँकिदिन्छ ।
____
नवौँ दिन ।
अब शरीर धेरै बोल्दैन ।
पहिले पेट कराउँथ्यो ।
अहिले चुप छ ।
तिर्खा पनि अर्कै किसिमको भएको छ ।
ओठ चर्किएका छन् । जिब्रो भारी छ ।
मलाई निद्रा मात्रै लाग्छ ।
तर निदाउन डर लाग्छ ।
हरेकपटक आँखा बन्द गर्दा एउटा प्रश्न आउँछ,
यदि यही अन्तिम निद्रा भयो भने?
त्यसैले म आफ्नै शरीरलाई सम्झाउँछु,
अहिले होइन ।
अलिकति पछि ।
एक घण्टा ।
अर्को एक घण्टा ।
त्यसपछि अर्को ।
दश दिन बाँच्ने योजना कसैले बनाउँदैन ।
मानिस एकएक घण्टा जोडेर दश दिन पुग्दोरहेछ ।
____
दशौँ दिन ।
आज फेरि आवाज आएको छ ।
यो पटक म हतारिएको छैन ।
कान भित्तामा राखेको छु ।
घर्ररर…
केही घुमिरहेको छ ।
मेसिन?
ड्रिल?
कि फेरि मेरो भ्रम?
मलाई थाहा छैन ।
पहिले भएको भए म कराउँथेँ ।
आज घाँटीमा आवाज छैन ।
मैले ढुंगा खोजेँ ।
एउटा भेटियो ।
भित्तामा हानेँ ।
टक ।
रोकिएँ ।
फेरि ।
टक ।
फेरि ।
टक ।
तीनपटक ।
बाहिर कसैले सुन्छ कि?
मलाई थाहा छैन ।
तर मैले आज पहिलोपटक एउटा कुरा बुझेँ ।
म दस दिनदेखि उद्धारको प्रतीक्षा मात्रै गरिरहेको थिइनँ ।
म दस दिनदेखि आफूलाई जीवित राखिरहेको थिएँ ।
बाहिर मानिसहरूले मलाई खोजिरहेका होलान् ।
कसैले नक्सा हेरिरहेको होला ।
कसैले माटो निकालिरहेको होला ।
कसैले मेरो नाम सूचीमा पढिरहेको होला ।
घरमा मेरी छोरीले अझै ढोका हेर्छे कि?
सायद उसले आज पनि आमालाई सोधी होली,
‘बाबा कहिले आउनुहुन्छ?’
उसकी आमाले के भनी होली?
मलाई थाहा छैन ।
तर म उत्तर दिन चाहन्छु ।
नानी,
बाबा आउँदैछ ।
बाबा ढिलो भएको मात्रै हो ।
तिमीले चकलेट मागेकी थियौ नि?
मलाई याद छ ।
सबै याद छ ।
त्यसैले म अहिले सुत्दिनँ ।
___
पख ।
फेरि आवाज आयो ।
यो पटक अलि नजिक ।
घर्ररर…
म भित्तामा कान टाँस्छु ।
मेसिन नै हो ।
हुनुपर्छ ।
म ढुंगा उठाउँछु ।
हात उठ्दैन ।
अर्को हातले उठाउँछु ।
टक ।
उताबाट पनि केही आयो कि?
पर्ख ।
हो ।
हो कि?
टक… टक…
हे भगवान्!
मेरो शरीर एकाएक काँपिरहेको छ ।
म रुन खोज्छु । आँसु आउँदैन ।
कराउन खोज्छु । आवाज आउँदैन ।
त्यसैले बाँकी रहेको सम्पूर्ण शक्ति मुटुमा जम्मा गरेर भित्तामा फेरि हान्छु ।
टक! टक! टक!
म यहाँ छु ।
सुन्दैछौ?
म यहाँ छु ।
म अझै मानिस हुँ ।
म अझै कसैको छोरा हुँ ।
कसैको श्रीमान् हुँ ।
एउटी सानी केटीको बाबा हुँ ।
मेरो घर छ ।
मेरो नाम छ ।
मेरो लागि ढोका हेरिरहेका आँखाहरू छन् ।
त्यसैले,
अलिक छिटो खन ।
मेरो सास धेरै बाँकी छैन ।
तर…
के कतै पृथ्वीमै प्रलय आएको त होइन ? कि सिंहदरबार बगायो ? बाहिर कोही बाँकी भए त अहिलेसम्म आउनुपर्ने हो !
म बाँकी छु ।

तपाइको प्रतिक्रिया
बाढीपछि सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा ६ वटा शव फेला
बाढीले पुल बगाएपछि तादी खोलामा एक्रो ब्रिज जडान हुँदै
२ करोड ४० लाख रुपैयाँको ‘एयरपड्स’ बरामद
शिक्षण अस्पतालमा १९३ शव, २४ को मात्रै पहिचान
शव पहिचान गर्न बाढी प्रभावित क्षेत्रमै डीएनए नमुना संकलन केन्द्र
सुरुङभित्र थुनिएको एउटा काल्पनिक मानिसको मनोवाद
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×