
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी सहर बुकाराभुमा भएको भीषण आगलागीमा कम्तीमा २४ बालबालिकाको मृत्यु भएको छ । आगलागीमा दुईवटा विद्यालय ध्वस्त हुनुका साथै करिब ३०० वटा काठले बनेका घर जलेर नष्ट भएका छन् ।
दक्षिण किभु प्रान्तका उपगभर्नर दुनिया मासुम्बुका ब्वेङ्गेका अनुसार मृतकमध्ये १९ जना छात्रा र पाँच जना छात्र छन् । घटनामा थप २९ जना घाइते भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार विद्यार्थीहरू विद्यालय पुगेको केही समयपछि विद्यालयनजिकै आगलागी सुरु भएको थियो । घटनास्थलमा एम्बुलेन्स पुगेपछि मृतक तथा घाइतेलाई अस्पताल लगिएको थियो । स्थानीय बासिन्दा र स्वास्थ्यकर्मीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । एक प्रत्यक्षदर्शीले आफूले १७ जनाको शव एम्बुलेन्समा राख्न सहयोग गरेको बताए ।
एउटा स्वास्थ्य केन्द्रले आगलागीमा मृत्यु भएका १० जनाको शव प्राप्त गरेको जनाएको छ भने अर्को अस्पतालमा ५० भन्दा बढी विद्यार्थी भर्ना भएकामा १४ जनाको मृत्यु भएको बताइएको छ । बुकाराभुमा रुवान्डाको समर्थन प्राप्त एम-२३ विद्रोही समूहले गत वर्षदेखि नियन्त्रण कायम गरेको छ । समूहले गत वर्ष पूर्वी कङ्गोमा तीव्र सैन्य अभियान अघि बढाउँदै बुकाराभु कब्जा गरेको थियो ।
आगलागी दिउँसोसम्म नियन्त्रणमा आए पनि घटनास्थलमा भग्नावशेष र बाङ्गिएका जस्तापाताबाट धुवाँ निस्किरहेको रोयटर्सका प्रत्यक्षदर्शीले बताएका छन्। घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ ।



















