निगरानीदेखि जैविक अनुसन्धानसम्म एआईको प्रयोग बढ्दो

Share this
619shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार २१:५३

एजेन्सी । इरानलगायत विभिन्न देशका राज्य समर्थित समूहले जातीय अल्पसंख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि एआईको प्रयोग बढाइरहेको एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ।

कम्पनीका अनुसार यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौँ अभियान पत्ता लगाएर अवरुद्ध गरिएको छ। ती अभियानमा हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू निशानामा परेको कम्पनीले जनाएको छ।

Advertisement

एउटा घटनामा इरानी समूहले सामाजिक सञ्जालमार्फत मानिसको पहिचान पत्ता लगाउने प्रविधि विकास गरेको थियो। त्यस्तै, मालीका राष्ट्रिय सुरक्षा अधिकारीका लागि काम गर्ने एक ठेकेदारले एन्थ्रोपिकको एआई मोडल ‘क्लाउड’ प्रयोग गरी गुप्तचर सूचना संकलनमा सहयोग गर्ने सफ्टवेयर विकास गरेको कम्पनीको दाबी छ।

एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयाससमेत रोकेको जनाएको छ। कम्पनीले चिनियाँ एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाफ तयार गर्न गोप्य रूपमा ‘क्लाउड’ प्रयोग गरेको र त्यसबाट प्राप्त तथ्यांकमार्फत आफ्ना एआई मोडल सुधार गरेको आरोप लगाएको छ। मुनसटले १० दिनमा ५ हजार ३८० कपटपूर्ण खातामार्फत करिब तीन लाख ग्राहकका अनुरोध एन्थ्रोपिकमा पठाएको दाबी पनि कम्पनीले गरेको छ।

एन्थ्रोपिकका अनुसार केही जैविक हतियारसम्बन्धी अनुसन्धानमा समेत एआई प्रयोग भएको पाइएको छ। त्यस्ता अनुसन्धानमा चिकुनगुनिया, अत्यधिक रोगजनक बर्ड फ्लु, चेचक र मङ्कीपक्सका भाइरस तथा विष र अन्य विषाक्त पदार्थसम्बन्धी अध्ययन समावेश छन्। यद्यपि, अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको हानिकारक उद्देश्य पुष्टि नभएकाले उनीहरूको पहिचान सार्वजनिक नगरिएको कम्पनीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×