मोदी र पुटिनबीच ब्रिक्सलाई बलियो बनाउने सहमति

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार ०९:४३

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने सहमति गरेका छन्। ब्रिक्स शिखर सम्मेलनको पूर्वसन्ध्यामा नयाँदिल्लीमा भएको भेटवार्तामा दुवै नेताले रणनीतिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। भेटका क्रममा रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशको प्रभावबाट मुक्त रही विश्व आर्थिक विकासका लागि ब्रिक्सलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए।

उनले केही शक्ति राष्ट्रहरूले आफ्नो प्रभाव कायम राख्न अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोध सिर्जना गरेको र राष्ट्रिय हितअनुसार निर्णय गर्ने देशहरूमाथि प्रतिबन्ध लगाएको आरोप लगाए। पुटिनका अनुसार ब्रिक्स अब राजनीतिक समूहमा मात्र सीमित नरही आर्थिक सहकार्य, प्रविधि र संयुक्त पूर्वाधार निर्माणमा केन्द्रित हुँदै गएको छ।

Advertisement

भारत र रुसले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार १०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेका छन्। चालु आर्थिक वर्षमा दुई देशबीचको व्यापार करिब ७० अर्ब डलर पुगेको छ। युक्रेनमा रुसको आक्रमणपछि पश्चिमा मुलुकले मस्कोमाथि प्रतिबन्ध लगाए पनि भारतले आफ्नो ऊर्जा सुरक्षाका लागि रुसी तेल खरिदलाई निरन्तरता दिँदै आएको छ। भारतले बढ्दो अर्थतन्त्रका लागि सस्तो र भरपर्दो ऊर्जा आपूर्ति आवश्यक रहेको बताउँदै आएको छ।

भेटवार्तामा नेताहरूले पश्चिम एसिया र ब्ल्याक सी क्षेत्रको द्वन्द्वले समुद्री व्यापार र नाविकको सुरक्षामा पारेको असरबारे पनि छलफल गरेका छन्। यद्यपि, ब्रिक्सका सदस्य राष्ट्रहरूबीचको फरक-फरक राष्ट्रिय स्वार्थ र भू-राजनीतिक मतभेदका कारण पुटिनको आर्थिक एजेन्डा कार्यान्वयनमा चुनौती देखिएको छ। विशेषगरी इरान र संयुक्त अरब इमिरेट्सबीचको क्षेत्रीय तनावले ब्रिक्सको एकतामा दबाब थपेको छ। यस्तो अवस्थामा भारतले अमेरिका, रुस, इरान र खाडी राष्ट्रहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×