
एजेन्सी । ड्रोन आक्रमणपछि साउदी अरबले पूर्व–पश्चिम तेल पाइपलाइन बन्द गरेको छ । बिहीबार गरिएको ड्रोन आक्रमणमा पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन् ।
साउदी ऊर्जा मन्त्रालयले पाइपलाइनमा बिहीबार पटक–पटक ड्रोन आक्रमण भएको जनाएको छ । आक्रमणबाट भएको क्षतिको मूल्यांकन तथा पाइपलाइनको सुरक्षा व्यवस्थाका लागि मन्त्रालयका टोली परिचालन गरिएको छ । यद्यपि, आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै देश वा समूहले लिएको छैन ।
अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणमा पाइपलाइन नजिक रहेका पम्पिङ स्टेसनलाई निशाना बनाइएको थियो । शुक्रबार सार्वजनिक भएको स्याटेलाइट तस्बिरमा एउटा पम्पिङ स्टेसनमा ठूलो आगलागी भएको र बाक्लो कालो धुवाँ निस्किरहेको देखिएको छ । पाइपलाइनमा प्रत्यक्ष रूपमा कति क्षति पुगेको छ र कहिलेसम्म पुनः सञ्चालनमा आउँछ भन्ने स्पष्ट छैन ।
साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा पाइपलाइनमाथि धेरै ड्रोनबाट आक्रमण भएको जनाएको छ । ती ड्रोन इराकबाट आएको साउदीको दाबी छ । इराकी प्रधानमन्त्रीको आग्रहपछि साउदीले तत्काल जवाफी कारबाही नगर्ने निर्णय गरेको बताइएको छ । इराकले घटनाको अनुसन्धान गर्ने र आफ्नो भूमि तथा हवाई क्षेत्र अन्य देशमाथि आक्रमण गर्न प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ ।
साउदीको अधिकांश तेल पूर्वी क्षेत्रमा उत्पादन हुन्छ । सामान्य अवस्थामा त्यहाँबाट निर्यात हुने तेल पानीजहाजमार्फत होर्मुज स्ट्रेट हुँदै बाहिरिन्छ । तर, अमेरिका–इरान युद्धका कारण होर्मुज बन्द भएपछि साउदीले पूर्व–पश्चिम पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल पश्चिमी तटस्थित यान्बु बन्दरगाहसम्म पुर्याउँदै आएको थियो ।
होर्मुजको विकल्पका रूपमा प्रयोग हुँदै आएको यही पाइपलाइन बन्द भएपछि साउदीको तेल निर्यातमा थप दबाब परेको छ । त्यसमाथि यमनका हुथी विद्रोहीले बाब अल–मन्डेब क्षेत्रमा साउदी जहाजलाई रोक्ने चेतावनी दिएपछि लाल सागरको समुद्री मार्गसमेत जोखिममा परेको छ ।



















