
एजेन्सी । भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा आयोजित सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
घोषणापत्रमा राजनीतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय एवं सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्य थप मजबुत बनाउने उल्लेख छ। ब्रिक्स नेताहरूले मध्यपूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिइएको छ। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपाय भन्दै आलोचना गरेको छ।
सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच द्विपक्षीय भेटवार्ता पनि भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति शृङ्खला र आर्थिक सहकार्य विस्तार गर्नेलगायत विषयमा छलफल भएको छ।
भारत–चीन सम्बन्ध सुधारतर्फ भेटवार्तालाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिङपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेता तथा उच्चस्तरीय प्रतिनिधि सहभागी छन्। हिजोदेखि सुरु भएको सम्मेलन आज पनि जारी रहनेछ।



















