
एजेन्सी । फ्रान्स सरकारले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने गरी नयाँ कानुनी व्यवस्था अघि बढाएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले तयार पारेको संशोधित कानुनी मस्यौदाका बारेमा युरोपेली आयोगलाई जानकारी गराइएको बताए । बालबालिका तथा किशोरकिशोरीमा सामाजिक सञ्जालको प्रयोगबाट पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले नयाँ व्यवस्था अघि सारेको हो ।
यसअघि फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन ल्याएको थियो । तर, संवैधानिक परिषद्ले उक्त कानुनका केही प्रावधानले अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै गत अगस्टमा खारेज गरिदिएको थियो ।
त्यसपछि सरकारले कानुनी आधारसँगै प्राविधिक पक्षमा समेत सुधार गरेर नयाँ मस्यौदा तयार गरेको हो । नयाँ प्रस्ताव युरोपेली संघको विद्यमान कानुनसँग मेल खान्छ कि खाँदैन भन्ने सुनिश्चित गर्न त्यसका बारेमा युरोपेली आयोगलाई जानकारी गराइएको फ्रान्स सरकारले जनाएको छ ।
राष्ट्रपति म्याक्रोनले आफ्नो कार्यकाल समाप्त हुनुअघि नै नयाँ प्रतिबन्ध कार्यान्वयनमा ल्याउने अपेक्षा व्यक्त गरेका छन् । उनले बालबालिकालाई सामाजिक सञ्जालबाट हुने सम्भावित हानीबाट जोगाउन युरोपेली संघका अन्य सदस्य राष्ट्रले पनि समान नीति अपनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य, सामाजिक व्यवहार र अनलाइन सुरक्षामा सामाजिक सञ्जालको प्रभावका बारेमा विश्वभर चिन्ता बढिरहेका बेला विभिन्न देशले कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने उपाय अघि बढाइरहेका छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि यसै साता ब्रसेल्समा हुने सम्बोधनका क्रममा युरोपेली संघभर बालबालिकाका लागि सामाजिक सञ्जालमा सम्भावित प्रतिबन्धका बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ ।



















