
एजेन्सी। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपियन युनियन (ईयू)सँग सम्बन्ध बलियो बनाउने क्यानाडाको प्रयास अमेरिकाविरुद्ध लक्षित नभएको बताएका छन्। बिहीबार फ्रान्समा ईयूका सांसदहरूलाई सम्बोधन गर्दै कार्नीले क्यानाडा–ईयू सम्बन्ध थप गहिरो बनाउने आफ्नो प्रस्ताव अमेरिकाविरुद्ध ‘अझ सभ्य शैलीको’ नयाँ भूराजनीतिक गुट निर्माण गर्ने उद्देश्यले अघि नबढाइएको स्पष्ट पारे।
उनले क्यानाडा र ईयूबीचको सम्बन्ध विस्तारको उद्देश्य नयाँ शक्ति गुट निर्माण गर्नु नभई आर्थिक तथा रणनीतिक रूपमा थप लचिलो र आत्मनिर्भर बन्ने क्षमता विकास गर्नु रहेको बताए। कार्नीको भनाइ ईयू आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले क्यानाडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव गरेको एक दिनपछि आएको हो। ‘एसोसिएट सदस्य’ भन्ने औपचारिक हैसियत ईयूमा हाल छैन।
लेयेनको प्रस्तावप्रति प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग हुने कुनै नयाँ सम्झौतालाई शत्रुतापूर्ण कदम ठानेमा ईयूका वस्तुमाथि भारी भन्सार लगाउन सक्ने चेतावनी दिएका छन्। अमेरिका र ईयू दुवै ट्रम्प प्रशासनको आक्रामक व्यापार नीतिको चपेटामा परेका छन्। अमेरिकाले आफ्ना सहयोगी मुलुकमाथिसमेत व्यापारिक दबाब बढाएपछि क्यानाडा र ईयूले अर्थतन्त्रलाई बलियो बनाउन तथा बाह्य दबाबबाट जोगाउन नयाँ साझेदारीको खोजी गरिरहेका छन्।
कार्नीले ईयूसँगको गहिरो साझेदारीको उद्देश्य ‘आत्मनिर्भरता’ भन्दा ‘लचिलोपन’ निर्माण गर्नु रहेको बताए। ‘म अझ सभ्य व्यवहार गर्ने अर्को शक्ति गुट बनाएर ठूलो शक्तिको प्रतिद्वन्द्वी बन्ने तेस्रो समूह प्रस्ताव गरिरहेको छैन,’ उनले भने। ‘हामी अरूमाथि प्रभुत्व जमाउन शक्ति खोजिरहेका छैनौँ। बरु, हाम्रो खुला बजारलाई कसैले नियन्त्रण गर्न नसकोस्, हाम्रो सार्वभौमसत्तामा हस्तक्षेप गर्न नसकोस्, हाम्रो भू–अखण्डतालाई खतरा नहोस् र हाम्रा स्वतन्त्रता, लोकतन्त्र तथा कानुनी शासनलाई कमजोर पार्न नसकोस् भन्ने उद्देश्यले हामी लचिलोपन निर्माण गरिरहेका छौँ,’ उनले भने।
कार्नीले क्यानाडा र ईयूबीच बन्ने नयाँ साझेदारीको ‘अन्तिम संरचना’बारे क्यानाडाको संसदमा छलफल र मतदान हुने बताए। तर, क्यानाडा ईयूको पूर्ण सदस्य बन्ने अवस्थामा नरहेको र आफूहरूले त्यस्तो सदस्यता नखोजेको पनि उनले स्पष्ट पारे।



















