वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरणका लागि  १० जना छनौट 

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १३:०३
वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरणका लागि  १० जना छनौट 

विराटनगर। विराटनगरको अर्किड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरणका लागि १० जना विद्यार्थी छनौट भएका छन् ।

वक्तृत्वकला प्रतियोगितामा सहभागी २३ जनामध्ये १० जना अन्तिम चरण (फाइनल) का लागि छनौट भएका हुन् । सहभागी २३ जनामध्ये कक्षा १२ की छात्रा युनिसा राई प्रथम, शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भए । त्यस्तै, अनुस दाहाल, दीपक दास, भेनस पोखरेल, त्रिक्षा महासेठ, उदय सोनार, सिर्जना मण्डल र गरिमा दास अर्को चरणमा प्रवेश गरेका छन् ।

Advertisement

विद्यार्थीको वक्तृत्व क्षमता, तर्क शक्ति र विषय वस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताका लागि ‘कक्षा कोठादेखि मोबाइलको पर्दासम्म: बदलिँदो विद्यार्थी जीवन’ र  ‘जलवायु न्याय: जिम्मेवारी कसको ? असर कसलाई ?’ गरी दुई विषय तोकिएका थिए ।  सहभागीले आफूलाई रुचि लागेको विषय छनोट गरी त्यसमाथि आफ्ना धारणा र तर्क प्रस्तुत गरेका थिए ।

कवि मीनकुमार नवोदित, शिक्षक राजन दत्त र सन्तोष अधिकारी सदस्य रहेको निर्णायक समितिले विजेताको टुंगो लगाएको हो । उनीहरूका अनुसार सम्बोधन, विषयवस्तुको ज्ञान, प्रस्तुति, तर्क, विचारको क्रमबद्धता, भाषिक शुद्धता तथा शब्द चयन, मौलिकता र समय व्यवस्थापनलाई मूल्यांकनको आधार बनाइएको थियो ।

छनोट भएका विद्यार्थीबीच अर्को चरणको प्रतियोगिता आयोजना गरिने छ । त्यसमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रिन्सिपल मनिष भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार विद्यार्थीभित्र लुकेका प्रतिभा पहिचान गरी प्रस्फुटन गराउने उद्देश्यले कलेजले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको छ । कलेजले  कविता, वक्तृत्वकला, वादविवाद, चित्रकला, हाजिरी जवाफ तथा खेलकुदलगायतका गतिविधि नियमित रूपमा सञ्चालन गर्दै आएको उनले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×