एआई जोखिम बढे ट्रम्प–सीबीच सिधा सम्पर्क हुने

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १५:१७

एजेन्सी । अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई)का कारण उत्पन्न हुन सक्ने गम्भीर जोखिमका बारेमा तत्काल संवाद गर्न छुट्टै सञ्चार संयन्त्र निर्माण गर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा भएको उच्चस्तरीय भेटवार्तापछि यस्तो संयन्त्र बनाउने समझदारी भएको हो । एआई प्रणालीबाट राष्ट्रिय सुरक्षा वा अन्य संवेदनशील क्षेत्रमा गम्भीर असर पर्ने घटना भएमा दुवै देशका अधिकारीबीच सूचना आदानप्रदान र प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाउने तयारी गरिएको छ ।

Advertisement

एआई प्रविधिमा अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा भइरहेका बेला नयाँ संयन्त्र बनाउने सहमति भएको हो । अत्याधुनिक एआई मोडल, चिप प्रविधि, प्रविधि निर्यात र राष्ट्रिय सुरक्षासँग जोडिएका विषयमा दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ ।

यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने गम्भीर एआई घटनाका बारेमा दुई देशबीच तत्काल जानकारी गराउने ‘नोटिफिकेसन मेकानिज्म’ आवश्यक रहेको धारणा राखेका थिए । त्यसैको पृष्ठभूमिमा अमेरिका र चीनबीच एआईसम्बन्धी संवादको संरचना विकास गर्न छलफल अघि बढाइएको थियो ।

चिनियाँ नीति विज्ञ झेङ योङनियानले पनि एआईबाट उत्पन्न जोखिम कुनै एउटा देशले मात्रै व्यवस्थापन गर्न नसक्ने बताएका थिए । अमेरिका र चीनले आ–आफ्नै प्रणाली र नियम बनाएर अघि बढ्दा प्रविधिको प्रतिस्पर्धा अझ विभाजित हुन सक्ने उनको धारणा थियो । उनका अनुसार एआईको विकास र नियमनमा दुवै देशबीच निरन्तर संवाद आवश्यक छ ।

यसअघि न्यूयोर्कमा बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङबीच भएको वार्तामा पनि एआईसँग जोडिएका राष्ट्रिय सुरक्षा, पारदर्शिता तथा गम्भीर घटनाको सूचना आदान–प्रदानका बारेमा छलफल भएको थियो । यसबीच राष्ट्रपति ट्रम्पले पछिल्लो समय एआईलाई ‘सुपर इन्टेलिजेन्स’ (एसआई)का रूपमा उल्लेख गर्न थालेका छन् ।

संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने क्रममा उनले अमेरिकी सरकारी दस्ताबेजमा एआईको सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्न निर्देशन दिएको बताएका थिए । सीसँगको भेटअघि पनि ट्रम्पले सुपर इन्टेलिजेन्ससम्बन्धी विषय वार्ताको महत्त्वपूर्ण एजेन्डा हुने बताएका थिए ।

वासिङ्टन वार्तामा एआईसँगै व्यापार र ऊर्जा क्षेत्रका विषयमा पनि समझदारी भएको ह्वाइट हाउसले जनाएको छ । चीनले आगामी वर्ष र सन् २०२८ मा अमेरिकाबाट कम्तीमा १ करोड टन कोइला खरिद गर्ने प्रतिबद्धता जनाएको छ ।

व्यापार विवाद र अत्याधुनिक प्रविधिमाथिको प्रतिस्पर्धाका कारण अमेरिका–चीन सम्बन्धमा तनाव कायम रहेका बेला सीको वासिङ्टन भ्रमण भएको हो । पछिल्लो समझदारीले एआई क्षेत्रमा देखिएको प्रतिस्पर्धा अन्त्य गर्नेभन्दा पनि जोखिमपूर्ण घटनाका बेला दुई देशबीच सम्पर्क कायम राख्ने संयन्त्र निर्माणतर्फ कदम अघि बढाएको देखिन्छ ।

नयाँ संयन्त्र कार्यान्वयनमा आएमा एआई प्रणालीसँग सम्बन्धित गम्भीर घटना वा राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने परिस्थितिमा अमेरिका र चीनका सम्बन्धित अधिकारीले प्रत्यक्ष रूपमा सूचना आदानप्रदान गर्न सक्नेछन् । यद्यपि, अत्याधुनिक एआई प्रविधिमा जारी प्रतिस्पर्धा र प्रविधि नियन्त्रणका विषयमा भने ठोस समाधान भएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×