
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले तनाव कम गर्न र युद्धविरामका लागि अघि सारेको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् ।
अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार इरानले अमेरिकासमक्ष युद्धविरामसहित होर्मुज स्ट्रेट पुनः खोल्ने प्रस्ताव राखेको थियो । तर, ट्रम्पले उक्त प्रस्ताव स्वीकार नगरेको रिपोर्टमा उल्लेख छ ।
इरानले अमेरिका र आफूबीचको तनाव कम गर्ने उद्देश्यसहित प्रस्ताव अघि सारेको समयमा ट्रम्पले अस्वीकार गरेको खबर सार्वजनिक भएको हो । रिपोर्टअनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानमाथि पुनः हवाई आक्रमण गर्ने योजना बनाएको बताइएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौतामा तय गरिएका आवश्यक सर्त पूरा गरेपछि मात्रै होर्मुज स्ट्रेट खोल्ने प्रक्रिया अघि बढ्ने बताएका थिए ।
यसैबीच, ट्रम्पले यसै साता इरानलाई ध्वस्त पार्ने चेतावनी दिएका थिए । तर, त्यसपछि उनले अमेरिकी प्रतिनिधिहरूको इरानी पक्षसँग राम्रो कुराकानी’ भएको दाबी गरेका थिए ।

























