
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा सोमबार (आज) हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोशी, बागमती तथा लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

























