
काठमाडौँ । नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा बज्ने ‘रिङ ब्याक टोन’ बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गर्ने फैसला गरेको हो।
रिट खारेज भएसँगै नेपाल टेलिकमलाई आफ्ना सेवाग्राहीको फोनमा पूर्ववत् रूपमा धुन (रिङ ब्याक टोन) बजाउने कानुनी बाटो खुलेको छ। अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर उक्त रिट दायर गरेका थिए।
रिटमा टेलिकमले बजाउने अनावश्यक धुनका कारण उपभोक्ताहरू आजित भएर ह्वाट्सएप, म्यासेन्जर र भाइवरजस्ता विदेशी एप प्रयोग गर्न बाध्य भएको जिकिर गरिएको थियो। यसले गर्दा देशको राजस्वमा घाटा लागेको र उपभोक्तालाई इच्छा विपरीत धुन सुन्न बाध्य पार्दा मानसिक तनाव सिर्जना भएको दाबी गर्दै चाडपर्व वा विशेष अवसरमा बजाइने यस्ता धुन तत्काल रोक्न माग गरिएको थियो। यद्यपि, सर्वोच्चले ती दाबीहरूमा संवैधानिक वा कानुनी आधार पर्याप्त नदेखेपछि रिट खारेज गरिदिएको छ।

























