रंगेलीमा पत्नीको हत्यापछि आत्महत्या : घरेलु हिंसाले निम्त्याएको जघन्य अपराध

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ माघ २०, मंगलबार १८:५०

विराटनगर । मोरङको रंगेलीमा घरेलु हिंसा चुलिँदै जाँदा पति र पत्नीले युवा अवस्थामै ज्यान गुमाउनु परेको छ ।

वैवाहिक सम्बन्धभित्र जमेको हिंसा जघन्य अपराधमा परिणत हुँदै अन्ततः २ युवा जीवनको अन्त्य भएर टुंगिएको हो । मंगलबार बिहानका राति रंगेली नगरपालिका–५ धनपट्टीस्थित एउटा घरभित्र भएको घटना प्रेम विवाह, पारिवारिक अस्वीकार र बारम्बारको झगडासँग सम्बन्धित देखिने प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार रंगेली–५ बहुवनका २२ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पत्नी २० वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । घटना बिहानका राति करिब २ः४५ बजेतिर भएको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार राति १०ः३० बजेतिर धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । दुवै जनाबीच पहिलेदेखि नै तनावपूर्ण सम्बन्ध रहँदै आएको र सोही विवाद उत्कर्षमा पुग्दा घटना भएको पाइएको लामिछानेको भनाइ छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका थिए ।

लामिछानेका अनुसार प्रारम्भिक अनुसन्धानबाट यो घटना आकस्मिक नभएर लामो समयदेखि चल्दै आएको वैवाहिक हिंसाको निरन्तरता रहेको पत्ता लागेको छ । जुन हिंसा जीवन अन्त्यसम्म पुगेर समाप्त भएको हो । स्थानीयका अनुसार मुकेश र अम्बिकाबीच मंसिर १२ गते प्रेम विवाह भएको थियो ।

उनीहरू विवाहअघि नै प्रेम सम्बन्धमा थिए । तर, विवाहपछि सम्बन्ध सहज हुन सकेन । मुकेशको परिवारले विवाह स्वीकार नगरेको, सामाजिक र पारिवारिक दबाबका कारण वैवाहिक जीवन तनावपूर्ण बनेको प्रहरी तथा स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

मुकेश विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी थिए । हेल्थ असिस्टेन्टका रूपमा कार्यरत उनको व्यक्तिगत जीवनमा देखिएको असन्तुलन, बारम्बारको झगडा र हिंसाले वैवाहिक जीवनलाई लगातार कमजोर बनाउँदै लगेको देखिन्छ । प्रहरीका अनुसार अम्बिकामाथि मुकेशले पटकपटक कुटपिट गर्ने गरेको उजुरी पनि परेको थियो ।

मुकेशविरुद्ध पुस २५ गते अन्तिमपटक जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी पर्यो । उजुरी परे पनि प्रहरीले बोलाउँदा उनी उपस्थित भएनन् । त्यही कारण पुस २८ गते राति पक्राउ गरेर १ रात जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

अबदेखि यस्तो घटना नहोर्याउने, पत्नीसँग मिलेर बस्ने तथा बिहे दर्ता गर्ने सर्तमा मिलापत्र र सहमति गरेर पुस २९ गते छुटेका थिए । त्यसअघि पनि दम्पतीबीचको झगडालाई लिएर प्रहरी कार्यालयमा छलफल एवं मिलापत्र भएको थियो । मण्डल दम्पतीबीचको झगडालाई लिएर प्रहरीमा मात्रै ३ पटकसम्म छलफल र सहमति भएको पाइएको छ ।

जनप्रतिनिधिसहितको उपस्थितिमा दुवै पक्षलाई राखेर मिलाउने प्रयास गरिएको तथ्य पनि बाहिर आएको छ । तर, सबै प्रयास दीर्घकालीन समाधान बन्न सकेनन् । भर्खर बिहे गरेका दम्पतीको सम्बन्ध नबिग्रियोस् भनेर प्रहरीले मध्यस्थताको भूमिका निर्वाह गर्दै बारम्बार छलफल, मिलापत्र र सम्झाइबुझाइ गरेको देखिन्छ । तर, त्यसले वास्तविक जोखिमको अन्त्य गर्न सकेन ।

विवाह दर्ताको विषयसमेत विवादित बनेको थियो । वडाध्यक्ष महानन्द मण्डलका अनुसार परिवारले अम्बिकालाई बुहारी स्वीकार नगरेपछि मुकेशले विवाह दर्ता गर्न पनि आनाकानी गरिरहेका थिए । प्रहरी र जनप्रतिनिधिले सम्झाइबुझाइ गरेपछि अन्ततः माघ ४ गते मात्र विवाह दर्ता भएको थियो । बिहे दर्तापछि अम्बिका माइतीमै बस्न थालेकी थिइन् भने मुकेश विराटनगरमै ।

बिहे दर्तापछि दुवै जनाको सम्बन्ध थप चिसिएको र अलग–अलग बस्न थालेको पाइएको वडाध्यक्ष मण्डलको भनाइ छ । घटना हुनुभन्दा अघिल्लो रात, अर्थात् सोमबार राति करिब १०ः३० बजे मुकेश अचानक ससुराली घरमा पुगेका थिए । अम्बिकाका बुवा बलेशुकुमार मण्डल घरमा थिएनन् । कामको सिलसिलामा झापाको दमक गएका उनी घटना सुनेपछि मंगलबार बिहान ६ बजे मात्रै घर आइपुगेका थिए । घरमा आमा पुनमदेवी र सानो भाइ मात्रै थिए ।

डीएसपी लामिछानेका अनुसार छोरीसँग सम्बन्ध राम्रो नभएको अवस्थामा ज्वाइँ घरमा आएपछि पुनमदेवीले सम्झाइबुझाइ गर्दै घर फर्कन आग्रह गरेकी थिइन् । मुकेश भने बिहान पत्नीलाई लिएर जाने अडान राख्दै ससुरालीमै बसे । त्यत्तिकैमा पुनदेवीले छरछिमेकी र वडाध्यक्ष मण्डललाई पनि खबर गरिन् ।

छरछिमेकी घरमा भेला भए । उनीहरुले पनि सम्झाइबुझाइ गरेर मुकेशलाई घर फर्किन आग्रह गरे । वडाध्यक्ष मण्डलले रातको समय भएकाले आफू आउन नसक्ने भन्दै फकाएर ज्वाइँ मुकेशलाई घर पठाउन भने । ‘मलाई राति ११ बजेतिर फोन आएको थियो । मैले मुकेशलाई सम्झाएर आफ्नै घर पठाउनु र रात बस्न नदिनु भनेर सुझाव दिएँ । बाँकी कुरा भोलि गरौंला भनेको थिएँ । तर, यस्तो दर्दनाक घटना भएछ,’ मण्डल भन्छन् ।

उनका अनुसार सासू पुनदेवीले समेत धेरै प्रयास गर्दा पनि मुकेश ससुरालीमै बस्ने अडानमा अडिग रहे । अन्ततः छरछिमेकी आआफ्नो घर फर्किए र दम्पती एउटै कोठामा सुत्न गए । त्यसपछि बिहानको शान्त वातावरण एक्कासि भंग भयो ।

छोरी–ज्वाइँ (मुकेश र अम्बिका) सुतेको कोठाबाट बिहानका राति ठूलो आवाज सुनेपछि पुनदेवीले ढोका ढकढक्याइन् । तर, भित्रबाट चुक्कुल लागेको ढोका खुलेन । झ्यालबाट भित्र छिरेर हेर्दा त्यहाँको दृश्य देखेर उनी आत्तिएकी थिइन् । छोरीलाई खाटमै रगतको आहालमा डुबेको अचेत अवस्थामा देखिन् भने ज्वाइँ गम्भीर अवस्थामा छटपटाइरहेका थिए । उनले आत्तिदै छरछिमेकीलाई खबर गरिन् । तर, सबै भेला भइसक्दा दुवै जनाको मृत्यु भइसकेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मुकेशले आफ्नो झोलामा राखेको चक्कु निकालेर सुरुमा पत्नी अम्बिकाको घाँटीमा प्रहार गरेको खुलेको छ । अम्बिकाको मृत्यु भएपछि त्यही चक्कुले आफ्नो घाँटी रेटेको पाइएको डीएसपी लामिछाने बताउँछन् । उनका अनुसार प्रहरी घटनास्थल पुग्दा दुवै जनाको शव रगतमा लतपतिएको बीभत्स अवस्थामा भेटिएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु बरामद गरेको छ ।

साथीभाइ र स्थानीयले मुकेश यसअघि लागुऔषधको कुलतमा फसेको जानकारी पनि दिएका छन् । यद्यपि, यो विषयमा प्रहरीबाट औपचारिक पुष्टि हुन बाँकी छ । यो तथ्य पुष्टि भयो भने मानसिक स्वास्थ्य, नशा नियन्त्रण र घरेलु हिंसाबीचको सम्बन्धका बारेमा थप गहिरो बहस आवश्यक देखिने प्रहरीको भनाइ छ ।

साथै, घटना दाइजोसँग पनि जोडिएको हुनसक्ने प्रहरीको आशंका छ । अम्बिकाकी आमा पुनमदेवीका अनुसार ज्वाइँ मुकेशका परिवारले दाइजोबापत बारम्बार १० लाख रूपैयाँ पैसा, १ तोला सुन र मोटरसाइकल मागेका थिए । ‘हामी दाइजो दिन तयार थियौं । तर, आर्थिक अवस्था कमजोर रहेकाले तत्काल दिन सक्ने अवस्था थिएन । खोजी गरेर दिन्छौं भनेका थियौं । छोरी र ज्वाइँले ज्यान गुमाउनुपर्ने मुख्य कारण नै दाइजो हो,’ भक्कानिँदै उनले भनिन् ।

उनका अनुसार दाइजोका बारेमा पटक–पटक दबाब आएको थियो । गाउँमा छलफल र पञ्चेतीसमेत भएको थियो । तत्काल दाइजो दिन नसक्दा ज्वाइँका परिवारले छोरी अम्बिकालाई बुहारी स्वीकार नगरेको पुनमदेवी बताउँछिन् । स्थानीयका अनुसार दाइजो नपाएको भन्दै मुकेशका परिवारले बिहे स्वीकार गर्न मानेका थिएनन् । परिवारले स्वीकार नगरेपछि मुकेशले रंगेलीको सन्सारीमाई मन्दिरमा अम्बिकासँग बिहे गरेको स्थानीयको भनाइ छ ।

घटनापछि दुवै जनाको शव विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमपछि शव आफन्तले बुझेर लगेका छन् । घटनाको वास्तविक कारण, मुकेशको मानसिक अवस्था, पृष्ठभूमि र विगतका घरेलु हिंसासँग जोडिएका घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए । घटनाको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

लामिछानेका अनुसार यो घटना एउटा घरभित्र सीमित निजी त्रासदी मात्रै नभएर घरेलु हिंसाले निम्त्याएको गम्भीर अपराध हो । बारम्बार प्रहरी मिलापत्रमा टुंग्याइने घरेलु हिंसाका उजुरी, समयमै जोखिम मूल्यांकन नगर्ने प्रवृत्ति, मानसिक स्वास्थ्य र नशा नियन्त्रणप्रतिको कमजोर संरचना र ‘सम्झाइबुझाइ’मै समस्या समाधान हुन्छ भन्ने गलत धारणाको कठोर परिणामले यति ठूलो अपराध भएको स्थानीयको बुझाइ छ ।

यो घटनाले अब पनि हामीले यस्ता विषयलाई गम्भीर रूपमा नलिए कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने कटु यथार्थ उजागर गरेको वडाध्यक्ष मण्डलको भनाइ छ । घटनापछि परिवार र आफन्त शोकमा डुबेका छन् । शोक र त्रासले गाउँ स्तब्ध भएको छ ।

‘घटनापछि परिवार र आफन्तमा ठूलो बज्रपात परेको छ । उनीहरु पीडा र त्रासमा छन्,’ वडाध्यक्ष मण्डलले भने, ‘वैवाहिक हिंसाप्रति चिन्ता र असुरक्षा फैलिएको छ । समुदायभरि अविश्वास, पीडा र निराशा बढेको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.