
पोखरा। साबिक विजेता बंगलादेशलाई स्तब्ध पार्दै भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि चुमेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा भारतले बंगलादेशमाथि ४-० को फराकिलो जित निकाल्दै उमेर समूहमा तेस्रोपल्ट च्याम्पियन बन्ने सफलता पाएको हो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको भारतले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा थप चामत्कारिक खेल प्रदर्शन गर्दै भारतले ३ गोल थपेपछि बंगलादेश निरीह बन्यो। लिग चरणमा अपराजित रहँदै ९ अंकका साथ शीर्ष स्थानमा पुगेको बंगलादेशका लागि फाइनलको नतिजा भने निराशाजनक रह्यो।
यसअघि लिग चरणमा बंगलादेशले भुटानलाई १२-०, भारतलाई २-० र नेपाललाई ४-० ले पराजित गरेको थियो। भारतले भने नेपाललाई १-० र भुटानलाई ८-० ले हराएर ६ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको थियो। लिग चरणमा बंगलादेशसँग हार व्यहोरेको भारतले फाइनलमा भने त्यसको बदला लिँदै उपाधि नै कब्जा गर्यो।
महिला उमेर समूहमा यसअघि बंगलादेश तीनपल्ट च्याम्पियन बनेको इतिहास छ। आयोजक नेपाल भने यसपटक लिग चरणबाटै बाहिरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई खेलपश्चात् पुरस्कृत गरिएको थियो।



















