
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आज (बुधबार) को बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्। संघीय संसद् सचिवालयका अनुसार अपराह्न १:१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री कार्कीले उक्त विधेयकमाथि छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
बैठकमा आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्। प्रश्नोत्तरका साथै संसदीय समितिहरूका वार्षिक प्रतिवेदनहरू समेत सभामा पेस हुने बताइएको छ।
यसैगरी, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन्। अर्कोतर्फ, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले अध्यागमन ऐन, २०४९ र त्यसअन्तर्गतका कानुनहरूको अध्ययन प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

























