विद्यावारिधिको झुठो विवरण पेश गर्ने त्रिविका सह-परीक्षा नियन्त्रक प्रसाईंलाई ६ महिना कैद

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार १९:४६

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंलाई विद्यावारिधि (पीएचडी) गरेको भनी झुठो विवरण पेश गरेको ठहर गर्दै विशेष अदालतले ६ महिना कैद सजाय सुनाएको छ ।

बुधबार विशेष अदालत काठमाडौँका न्यायाधीशत्रय सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले प्रसाईंलाई छ महिना कैदका साथै १० हजार रुपैयाँ जरिवाना र ४०० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

Advertisement

त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको सह-परीक्षा नियन्त्रक पदका लागि प्रसाईंले आफूले विद्यावारिधि प्राप्त गरेको स्वघोषणासहित आवेदन दिएका थिए । सोही शैक्षिक योग्यताका आधारमा मूल्यांकन समितिले उनलाई ८ अंक प्रदान गरेको थियो । उनी २०८१ मंसिर १८ गते सह-परीक्षा नियन्त्रक पदमा नियुक्त भएका थिए ।

प्रसाईंले विद्यावारिधि नै नगरी नक्कली विवरण पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान सुरु भएको थियो । अख्तियारले उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतको फैसलामा भनिएको छ, “सह-परीक्षा नियन्त्रक पदमा आवेदन दिन निजको न्यूनतम योग्यता पुगेको विषयमा विवाद नभए तापनि, नियुक्ति प्रक्रियामा बढी अंक प्राप्त गर्ने बदनियतले विद्यावारिधि गरेको झुठो विवरण पेश गरेको देखिन आयो ।”

अख्तियारले अन्य प्रतिवादी बनाएका जललक्ष्मी प्रधान, मेघराज पोखरेल र मोतिलाल शर्मालाई भने अदालतले सफाइ दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.