
इलाम। पर्यटकीय नगरी इलाममा नयाँ र अत्याधुनिक फिल्म हल सञ्चालनमा आएको छ । धरान र बुटवलमा सेवा दिइरहेको ‘फ्रेन्ड्स सिनेमा’ले इलाममा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो ।
इलाम नगरपालिका–७ स्थित बहुतले पार्किङ भवनमा निर्माण गरिएको यो हलको शुक्रबार एक विशेष समारोहका बीच अभिनेता पल शाह र अभिनेत्री उषा उप्रेतीले उद्घाटन गरे । करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा तयार पारिएको यस हलको क्षमता १८८ सिट रहेको छ ।
हलमा दर्शकको सुविधाका लागि विश्वस्तरीय प्रविधि भित्र्याइएको छ । फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीले हलमा ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको जानकारी दिए । यस प्रविधिले गर्दा अब इलामका दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा जस्तै गुणस्तरीय ध्वनि र दृश्यको आनन्द लिन पाउनेछन् ।
प्रदीप धामी, पुष्कर घिमिरे र आशिष तामाङको संयुक्त लगानीमा सञ्चालित यस हलले स्थानीय फिल्म प्रेमीहरूको ठुलो समस्या समाधान गरेको छ । अब राम्रो सिनेमा हेर्नकै लागि झापा झर्नुपर्ने बाध्यता अन्त्य भएको सञ्चालक धामीले बताए ।



















