
काठमाडौं । भारत र ब्राजिलबीच रणनीतिक रूपमा महत्वपूर्ण दुर्लभ खनिज तत्वको क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नयाँ दिल्लीमा आयोजित सम्मेलनका क्रममा भारत भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुईज इनासियो लुला दा सिल्भा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय भेटवार्तापछि उक्त समझदारीलाई अन्तिम रूप दिइएको हो । समझदारीअनुसार दुवै देशले दुर्लभ तथा महत्वपूर्ण खनिजको खोज, उत्खनन, प्रशोधन, प्रविधि आदानप्रदान तथा आपूर्ति शृंखला सुदृढीकरणमा सहकार्य गर्नेछन् ।
यस्ता खनिज विद्युतीय सवारीसाधन, सौर्य ऊर्जा उपकरण, दूरसञ्चार सामग्री, उन्नत विमान इन्जिन तथा रक्षा सामग्री निर्माणमा प्रयोग हुने भएकाले अत्यन्त संवेदनशील र रणनीतिक महत्वको रूपमा लिइन्छन् । संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले उक्त सहमतिलाई भविष्यको ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले लचिलो र भरपर्दो आपूर्ति प्रणाली निर्माणतर्फ सहकार्य ठूलो कदम भएको उल्लेख गरे । हाल भारत दुर्लभ खनिज आवश्यकताका लागि मुख्यतः चीनमा निर्भर रहँदै आएको सन्दर्भमा ब्राजिलसँगको सहकार्यलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ब्राजिलसँग विश्वकै ठूलोमध्ये एक महत्वपूर्ण खनिज भण्डार रहेको बताइन्छ । राष्ट्रपति लुलाले आफ्नो देश कच्चा पदार्थ निर्यातकर्ता मात्र नभई लगानी, प्रविधि हस्तान्तरण र जनशक्ति तालिममा समेत सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे ।
दुवै देशले आगामी पाँच वर्षभित्र द्विपक्षीय व्यापार २० अर्ब अमेरिकी डलरभन्दा माथि पुर्याउने लक्ष्यसमेत व्यक्त गरेका छन् । विश्लेषकहरूका अनुसार यो ुसहमतिले ऊर्जा, उद्योग तथा रक्षा क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।



















