
काठमाडौं । टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले रोडलाईन प्यालेस होटलबाट पीडितको उद्धार गरेको हो।
होटल सञ्चालक शिव बहादुर घर्तीको होटलको कोठा नम्बर १०५ मा पूर्ण बहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरिएको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरीले बोहरालाई घाइते अवस्थामा फेला पारी उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा होटल सञ्चालक घर्तीसहित फपेन्द्र न्यौपाने र धनराज बस्नेतलाई पक्राउ गरिएको छ।
पक्राउ परेका तीनै जनालाई अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। प्रहरीले घटनाको थप कारणबारे अनुसन्धान गरिरहेको छ।

























