
झापा । नेपाल–भारत सीमा क्षेत्रलाई आधार बनाएर आफ्नै देशका नागरिकलाई लक्षित गरी करोडौँ रकम असुल्ने योजनामा सक्रिय भारतीय गिरोहको संगठित जालो झापामा भत्किएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले बुधबार पत्रकार सम्मेलन गर्दै एक नेपालीसहित सात जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रारम्भिक अनुसन्धानबाट गिरोहले भारतका व्यवसायीहरूलाई लक्षित गरी १२ करोड भारतीय रुपैयाँ ठगी गर्ने योजना बनाएको पत्ता लागेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल आदर्श पल्लीका ४५ वर्षीय अरिन्दम धर, पश्चिम बंगाल सारत पल्लीकी ३६ वर्षीया दीपा भौमिक, पश्चिम बंगाल दक्षिण २४ परगना हरिनभीका ३५ वर्षीय सुमन सरकार, दक्षिण २४ परगना मुसलमान पाराका ३७ वर्षीय नुर कलाम शेख, पश्चिम बंगाल जलपाईगुरीका ५२ वर्षीय अबेद अली होसैन, उत्तर दिनाजपुर फालाहाकाटाका २० वर्षीय फारुक अज्मी र झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय देवेन्द्र सापकोटा रहेका छन् ।
झापा प्रहरीका प्रवक्ता तथा डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गिरोहका सदस्यहरूले आफूहरूले नेपालमा व्यापारमा लगानी गरी ठूलो नाफा कमाएको तर कानुनी अड्चनका कारण उक्त रकम नेपाल सरकारका निकायले जफत गरेको भनी झुटो कथा बनाउने गर्थे । सो रकम भारत लैजान ‘पेनाल्टी’ स्वरूप जरिबाना तिर्नुपर्ने भन्दै चिनजान वा व्यापारिक पृष्ठभूमिका भारतीय नागरिकहरूलाई भिडियो सन्देश पठाई रकम माग्ने योजना उनीहरूको थियो । यस पटक कलकत्ताका एक व्यवसायीलाई १२ करोड नक्कली भारतीय रुपैयाँ दिने तयारी भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ।
घटनाको विवरणअनुसार मंगलबार साँझ करिब ६ बजे डब्लुबी ०६ एक्स ०३०० नम्बरको टोयोटा फर्च्युनर र डब्लुबी ०६ यु ३००६ नम्बरको सुजुकी कार चन्द्रगढी बजारबाट काँकडभिट्टातर्फ जाँदै गर्दा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा भद्रपुर नगरपालिका–८ घोडामारामा रोकेको थियो । गाडीभित्र नेपाल प्रहरीको नक्कली परिचयपत्र, सरकारी छाप तथा विभिन्न कागजात फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाइएको हो ।
थप अनुसन्धानका क्रममा मेचीनगर नगरपालिका–४ आमडाँगीको एउटा ठाउँमा लुकाइछिपाइ राखिएको २१ वटा टिनका बाकस र २३७ बन्डल नोट आकारका सादा कागज बरामद गरिएको डीएसपी खड्काले जानकारी दिए । ती बन्डलहरूमा माथि र तल सक्कली नेपाली नोट राखी बीचमा सादा कागज राखिएको पाइएको छ ।
प्रत्येक बन्डलमा सरकारी कार्यालयको जस्तो देखिने पत्रसमेत राखेर भिडियो खिची व्यवसायीलाई देखाउने गरिएको खुलेको छ । यसरी तयार पारिएका भिडियो र तस्बिरहरू मार्फत ‘नाफा कमाएको रकम नेपालमै रोकिएको’ कथा विश्वसनीय बनाउने प्रयास हुने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार करिब डेढ महिना अघि मेचीनगर–४ स्थित एक होटलमा कोठा लिएर ती टिनका बाकस र नक्कली नोट बन्डलहरूको फोटो तथा भिडियो बनाइएको थियो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार गिरोहले यसअघि पनि यस्तै शैली अपनाएर रकम असुल्ने प्रयास गरेको आशंका गरिएको छ ।
बरामद सामग्रीमा नेपाल सरकारको निशान छाप, सरकारी छाप तथा दस्तखत किर्ते कागजात, नेपाल प्रहरीको नक्कली परिचयपत्र र अन्य सरकारी दस्तावेज जस्तै देखिने कागजहरू रहेका छन् । प्रहरीले यसलाई गम्भीर प्रकृतिको संगठित अपराधको रूपमा लिएको र यो खतरनाक योजनालाई विफल पारिएको जनाएको छ । पक्राउ परेका अरिन्दम धर काठमाडौँस्थित एक क्यासिनोमा लगानी गरिसकेका व्यक्ति भएको समेत खुलेको छ । हालसम्मको अनुसन्धानबाट गिरोहले ठगीबाट संकलित रकम नेपालका विभिन्न क्यासिनोमा लगानी गर्ने योजना बनाएको देखाएको छ ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत लिखत सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाले सीमावर्ती क्षेत्रमार्फत अन्तरदेशीय ठगी जालो कसरी सञ्चालन हुन सक्छ भन्ने देखाएको प्रहरीले जनाएको छ ।
यसमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी भइरहेको डीएसपी खड्काले बताए । नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी आर्थिक अपराध गर्ने प्रवृत्ति रोक्न दुवै देशका सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको प्रहरी अधिकारीहरूको भनाइ छ ।
यस घटनाले सीमावर्ती बजार क्षेत्रमा निगरानी बढाउँदै अन्तरदेशीय गिरोहका बारेमा थप सतर्कता अपनाउनुपर्ने सन्देश दिएको छ । प्रहरीले आम नागरिकलाई कुनै पनि प्रकारको आर्थिक प्रलोभनमा नपर्न र शंकास्पद गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ ।

























