
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई तीव्र पार्दै २९ लाख ४ हजार रुपैयाँ बराबरका अखाद्य वस्तु नष्ट गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा ५ हजार ९ सय ६ पटक उद्योग, होटल तथा बजारको अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका र अखाद्य वस्तु फेला परेपछि ती सामग्री जफत गरी नष्ट गरिएको हो। न्यून स्तरका र दूषित खाद्य पदार्थ बिक्री गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालय र अदालतमा ६२ वटा मुद्दा दायर गरिएको विभागले जनाएको छ। कैफियत देखिएका बेकरी, प्रशोधित पानी, दालमोठ र क्यान्डीलगायत १३ प्रकारका खाद्य पदार्थलाई बजारबाट फिर्ता गर्न समेत आदेश दिइएको छ।
प्रयोगशाला परीक्षणमा पठाइएका नमुनामध्ये २६ वटा प्रतिकूल पाइएपछि सम्बन्धितमाथि कानुनी कारबाही अघि बढाइएको छ। यस्तै, आवश्यक कागजात र लेबल नमिलेका २ सय २९ वटा खाद्य पदार्थको आयात अनुमति समेत विभागले अस्वीकृत गरिदिएको छ। द्रुत विषादी अवशेष परीक्षण (आरबीपीआर) मार्फत तरकारी र फलफूलको गुणस्तर जाँचलाई पनि निरन्तरता दिइएको छ।
विभागले खाद्य स्वच्छता ऐन, २०८१ बमोजिम परम्परागत नेपाली खानेकुराको गुणस्तर निर्धारण गर्ने कार्यलाई पनि अघि बढाएको छ। छुर्पी, मस्यौरा र रोल्ड ओट्सको मापदण्ड लागू हुने चरणमा रहेका छन् भने गुन्द्रुकको मापदण्ड स्वीकृतिका लागि सिफारिस गरिएको छ। विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले उपभोक्ताको स्वास्थ्य रक्षाका लागि आगामी दिनमा अनुगमन र जनचेतनाका कार्यक्रमलाई अझै प्रभावकारी बनाउने बताए।

























