
विराटनगर । मोरङको उर्लाबारी घर भएका एक जना युवा सुनसरीको इटहरीमा पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका–४ आइतबारे टोलबाट १९ वर्षीय आकाश कार्कीलाई प्रहरीले बिहीबार राति ९ः४० बजेतिर पक्राउ गरेको हो । उर्लाबारी नगरपालिका–१० घर भएका उनी इटहरी–४ मा डेरा बस्दै आएको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले कार्कीको कोठामा छापा हानेको थियो । कोठा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार बरामद भएइको लागुऔषधसहित कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























