
विराटनगर । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्नलाई भूमिका खेल्न सक्ने आशंकामा दुर्गा प्रसाईं नेतृत्वको महाअभियानका नेता कार्यकर्ता मोरङमा पक्राउ परेका छन् ।
विवादास्पद छविका मेडिकल व्यवसायी प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् । उनी नेतृत्वको अभियानका तीन जना जिल्लास्तरीय नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको बूढीगंगा गाउँपालिका–७ का अन्दाजी ४७ वर्षीय डोलेश्वर रेग्मी, पथरीशनिश्चरे नगरपालिका–३ का अन्दाजी ६३ वर्षीय सूर्य चौधरी र अन्दाजी ५८ वर्षीय चूडामणि राई रहेका छन् ।
पक्राउ पर्नेमध्ये रेग्मी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका मोरङ जिल्ला संयोजक हुन् । चौधरी र राई कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेर चुनाव बिथोल्ने सम्भावना देखिएकाले तीनै जनालाई पक्राउ गरिएको हो । बिहीबार पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी चौधरीले दिए ।
प्रहरीले निर्वाचन विरोधी गतिविधिमाथि निगरानी बढाएको र चुनाव बिथोल्ने सम्भावनालाई तत्कालै नियन्त्रणमा लिने रणनीति अपनाएको उनले बताए । कतै निर्वाचन विरोधी गतिविधि हुनसक्ने वा भइरहेको जानकारी पाएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।
महाअभियानका नेतृत्वकर्ता प्रसाईं पनि बारम्बार पक्राउ परिरहेका छन् । पछिल्लो समय निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको भन्दै कारबाही गर्न निर्वाचन आयोगले पत्राचार गरेपछि प्रहरीले उनलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
बिना आधार र कारण थुनामा राखेको देखिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई छाड्न गत मंगलबार आदेश दिएको थियो । सर्वोच्चको आदेशका आधारमा उनी बुधबार छुटेका थिए ।

























