
विराटनगर । झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
फागुन १५ गते राति करिब ९:२० बजेको समयमा बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजंघा स्कुल नजिकैको भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो । बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१६ प ३९५९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक झापा मेचिनगर नगरपालिका–१३, चारआली बस्ने २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलको पछाडि सवार झापा कनकाई नगरपालिका–६ का २५ वर्षीय चन्द्रकिशोर चापागाईं गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कार चालक बिर्तामोड नगरपालिका–६ बस्ने २५ वर्षीय चिराग सिन्हालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे छ ।

























