
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले शनिबार संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्वको सुरक्षा स्थिति निकै संवेदनशील बनेको छ । इरानले पनि प्रत्याक्रमण सुरु गरेसँगै विश्वव्यापी पेट्रोलियम आपूर्ति र मूल्यमा गम्भीर असर पर्ने देखिएको छ, जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशतसम्म वृद्धि भइसकेको छ । विशेषगरी विश्वको व्यस्त तेल व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध पुग्न सक्ने चिन्ताले अन्तर्राष्ट्रिय बजार तताएको छ ।
नेपाल आफ्नो सम्पूर्ण इन्धन आपूर्तिका लागि भारतमा निर्भर रहेको र भारतले आफ्नो हिस्सा मध्यपूर्वबाटै आयात गर्ने भएकाले यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने आशङ्का उपभोक्तामा देखिएको छ । लगातारका बिदा र सम्भावित अभावको डरले आइतबार बिहानैदेखि काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ । उपभोक्ताहरूले इन्धन सञ्चय गर्न खोज्दा बजारमा एक प्रकारको मनोवैज्ञानिक त्रास फैलिएको छ ।
यद्यपि, नेपाल आयल निगमले भने मध्यपूर्वको तनावका कारण नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आपूर्ति प्रणालीमा कुनै अवरोध आएको छैन र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धन ल्याउने पाइपलाइन चौबिसै घण्टा सञ्चालनमा छ । उनले बजारमा देखिएको भिड केवल मनोवैज्ञानिक त्रासको परिणाम भएको बताएका छन् ।
निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा नआत्तिन र इन्धन सञ्चय नगर्न आग्रह गरेको छ । प्रवक्ता ठाकुरले आपूर्ति निरन्तर भइरहेकाले हालको विश्व परिस्थितिबाट नेपालको इन्धन वितरण प्रणालीमा कुनै प्रभाव नपर्ने दाबी गरे ।

























