
जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुर टोलमा पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महराबाट ४५ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरिएको छ । घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगदसहित आर्थिक कारोबार विवरण उल्लेख गरिएको डायरी पनि फेला परेको छ ।
प्रहरी टोली पुगेपछि महरसँगै रहेका तीन जना फरार भएका छन् । पक्राउ परेका उम्मेदवार र प्रयोग गरिएको गाडी आवश्यक कारबाहीका लागि निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























