
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा शनिबार बिहानका राति सुतिरहेका कैदीबन्दीमाथि चौकीदारले नै कट्टी प्रहार गरेका छन् । कट्टी प्रहारबाट दुई जना भएका छन् । एक जनाको अवस्था गम्भीर र एक जनाको मध्यम छ ।
घाइते हुनेहरुमा एक जना भारतीय नागरिक पनि छन् । घटनामा परेर भारतको उत्तर प्रदेश दिनाजपुर गौरी घर भएका ३५ वर्षीय चन्चल बर्मन र मोरङको ग्रामथान गाउँपालिका–५ घर भएका २८ वर्षीय सञ्जय चौधरी घाइते भएको कारागार प्रशासक गौरव ढुंगेलले बताए ।
उनका अनुसार बर्मन मानब बेचबिखन तथा ओसारपसार र चौधरी चोरी तथा डाँका मुद्दाका कैदी हुन् । गम्भीर अवस्थाका बर्मनको अनुहारभरि गहिरो चोट लागेको छ । मध्यम अवस्थाका चौधरीको हातमा चोट लागेको छ । कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जनालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको छ ।
अस्पतालले पनि बर्मनको अवस्था गम्भीर र चौधरीको मध्यम रहेको जानकारी दिएको छ । घाइते दुवै जनामाथि सुतिरहेका बेला कारागारको ‘बी ब्लक’का चौकीदार गोपाल दनुवारले बिहानका राति ३ बजेतिर कट्टीले अन्धाधुन्ध आक्रमण गरेको कारागार प्रशासक ढुंगेलले बताए । मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका ३१ वर्षीय दनुवार जबरजस्ती करणी मुद्दाका कैदी हुन् ।
उनले ‘बी ब्लक’मा चौकीदारको जिम्मेवारी पाएका थिए । घटनामा परेर घाइते भएकाहरुलाई पनि सोही ‘ब्लक’मा राखिएको थियो । दनुवारले सुतिरहेका कैदीमाथि किन आक्रमण गरेका हुन् भनेर यकिन भइसकेको छैन ।
घटनामा प्रयोग गरिएको कट्टीसहित दुनवारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका दनुवारले आफू निद्रामा रहेका बेला कट्टी हानेको मात्रै भनेका छन् ।
‘निद्राका बेला कट्टी हानेछु, मलाई केही थाहा छैन भनिरहेका छन् । घटनामा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिएर थप सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको छ,’ उनले भने । चौधरीका अनुसार एउटै ‘ब्लक’मा सँगै सुतेका कैदीमाथि चौकीदार दनुवारले कट्टी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनासँग सम्बन्धित थप विषय अनुसन्धानपछि मात्रै पत्ता लाग्ने प्रहरीले जनाएको छ । कैदीबन्दीलाई राखिएको कारागारभित्र कसरी कट्टी छिराइयो भन्ने गम्भीर प्रश्न उठेको छ । कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले बेवास्ता गर्दा कैदीबन्दी राख्ने ‘ब्लक’भित्र नै घरेलु हतियार पुर्याउन सहज भएको हुनसक्ने अनुमान छ ।
कैदीबन्दीहरूबीच झगडा, विवाद वा अनुशासनहीन गतिविधि भए तुरुन्त नियन्त्रण गर्ने र माथिल्लो अधिकारीलाई जानकारी दिने जिम्मेवारीमा रहेका चौकीदार आफैंले यस्तो घटना गराएपछि मोरङ कारागारभित्रको शान्ति सुरक्षाको अवस्थालाई लिएर गम्भीर प्रश्न खडा भएको छ । दैनिक व्यवस्थापनसहित कारागारमा आधारभूत सुरक्षा र अनुशासन कायम राख्ने कैदीहरूको निगरानी, उपस्थिति जाँच, आवतजावत व्यवस्थापन र जेलभित्रको सामान्य शान्ति कायम राख्ने जिम्मेवारी पनि चौकीदारकै हुन्छ ।
सुरक्षाकर्मी र कारागार प्रशासकको जस्तो उच्च जिम्मेवारी नभए पनि जेलभित्रको व्यवस्थापन, निगरानी, अनुशासन र सुरक्षा कायम राख्ने महत्वपूर्ण भूमिका चौकीदारको हुन्छ । तर, चौकीदारले नै अरु कैदीमाथि आक्रमण गरेका छन् ।
चौकीदार दनुवार मानसिक समस्यामा रहेको हुनसक्ने कारागार प्रशासक ढुंगेलले बताए । ‘के कारणले घटना भयो भन्ने यकिन छैन । चौकीदारलाई मानसिक समस्या हुनसक्छ । प्रहरीको अनुसन्धानबाट घटनाको वास्तविक कारण पत्ता लाग्छ,’ उनले भने ।

























