
काठमाडौं । सरकारले मुलुकको विकास खर्च व्यवस्थापनका लागि ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ‘विकास ऋणपत्र २०८७’ नाम दिइएको उक्त ऋणपत्रमार्फत ५ वर्षका लागि यो रकम उठाउन लागिएको हो । यस ऋणपत्रको बोलकबोल आज फागुन २६ गते हुँदैछ भने निष्कासन भोलि २७ गते गरिने कार्यतालिका छ ।
यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, विभिन्न सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकले समेत बोलकबोल पेस गर्न सक्नेछन् ।
बोलकबोलमार्फत तय हुने ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिने र अन्तिममा छानिएको एकल ब्याजदरमै सबै बोलवालाहरूलाई ऋणपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ । लगानीकर्ताले यो ऋणपत्र धितो राखेर बैंकबाट कर्जा लिन समेत पाउने सुविधा रहेको छ ।

























