
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले कालाेसुचीमा परेका कारण धनुषा– १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको उम्मेदवारी रद्द गर्याे । आयोगको निर्णयविरुद्ध साह सर्वाेच्च अदालत पुगे ।
फागुन २१ गते मतदान हुँदा मतका हिसाबले उनी पहिलो भए । तर, उम्मेदवारी रद्द भएका कारण मतगणना भएन । निर्वाचन आयोगले गणना भएकाे मतका आधारमा पहिलाे भएका नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । रास्वपाको उम्मेदवारी रद्द भएका कारण १० हजार ४३० मत पाएका यादवले निर्वाचित भएको प्रमाणपत्र पाएका थिए ।
यादवले प्रमाणपत्र पाएपछि सर्वाेच्च अदालतले रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्च अदालतको आदेशपछि धनुषा १ काे निर्वाचन परिणामका विषयमा अन्योलता सृजना भएको छ ।
गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित साह सर्वोच्च अदालत पुगेका थिए । न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय प्रभावित हुने भएको छ । विजयी घोषणा गर्दै नेकपा उम्मेदवार मातृका यादवलाई दिएको प्रमाणपत्रको विषयमा समेत अन्योलता सृजना भएको छ ।

























