
विराटनगर । विराटनगरबाट गाँजासहित शुक्रबार दिउँसो दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत अररियाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सई सुवास अधिकारी नेतृत्वको टोलीले उनीहरुलाई विराटनगर महानगरपालिका–३ बाट दिउँसो १ बजेतिर पक्राउ गरेको हो ।
शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले साथमा रहेको निलो झोला खानतलासी गरेको थियो । त्यस क्रममा झोलाभित्र ११ किलो गाँजा फेला परेको मोरङ प्रहरीका सू्रचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।
‘दुई जना भारतीय युवालाई नियन्त्रणमा लिएर साथमा भएको झोलाबाट गाँजा बरामद भएको हो,’ उनले भने, ‘त्यसलगत्तै दुवै जनालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ ।’ पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।
उनीहरुले गाँजा कहाँबाट ल्याएका हुन् र कता लैजान लागेका थिए भन्ने बारेमा यकिन भइसकेको छैन । भारततिर लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ । वास्तविकता पत्ता लगाउन अनुसन्धान सुरु गरिएको डीएसपी लामिछानेले बताए ।

























