
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साताभित्र इरानविरुद्ध थप कडा सैन्य आक्रमण हुने संकेत गरेको छन् ।
मध्यपूर्व क्षेत्रमा युद्धको अवस्था चर्किरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानमाथि हालसम्मकै कठोर कदम चाल्न सकिने बताएका छन् ।
उनले अमेरिकाले पहिले नै इरानलाई ठूलो क्षति पुर्याइसकेको दाबी गर्दै आगामी दिनमा अझ कडा प्रहार हुन सक्ने संकेत गरेका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भने, ‘हामीले उनीहरूलाई यति ठूलो क्षति पुर्याइसकेका छौँ कि त्यसको पूर्ति हुन वर्षौँ लाग्न सक्छ ।’
युद्ध कहिले समाप्त हुन्छ भन्ने प्रश्नमा उनले स्पष्ट समयसीमा नदिँदै आफूलाई उपयुक्त लागेपछि मात्र युद्ध अन्त्य भएको मानिने टिप्पणी गरे । मध्यपूर्व क्षेत्रमा तनाव तीव्र बनेको अवस्थामा अमेरिकाको यस्तो अभिव्यक्तिले युद्ध थप चर्किने संकेत गरेको छ ।
इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बनेको छ । गत फेब्रुअरी २८ मा भएको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको दाबी गरिएपछि स्थिति अझै चर्किएको थियो ।
उक्त आक्रमणपछि इरानले अमेरिकाको सहयोगी देशहरू र इजरायलविरुद्ध निरन्तर ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरिरहेको छ । इरानको नेतृत्व अहिले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले सम्हालेको बताइन्छ ।
ट्रम्पले अन्तर्वार्तामा मोज्तबा खामेनीको अवस्थाबारे पनि टिप्पणी गर्दै उनी घाइते भए पनि जीवित रहेको हुन सक्ने बताएका छन् । यसबीच इरानले इजरायल र अमेरिकी सैन्य अड्डा रहेका खाडी क्षेत्रका देशहरूलाई लक्षित गर्दै लगातार ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको बताइएको छ ।
इरानी सरकारी निकायहरूले अमेरिकाको आक्रमणको कडा जवाफ दिने चेतावनी दिँदै आएका छन् । मध्यपूर्व क्षेत्रमा यसरी सैन्य गतिविधि बढ्दै जाँदा विश्व समुदायमा चिन्ता बढेको छ ।
क्षेत्रीय युद्ध झन् फैलिन सक्ने आशंका गर्दै कूटनीतिक समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायले आग्रह गरिरहेको छ । तर, अमेरिकाको पछिल्लो चेतावनी र इरानको प्रतिकारात्मक आक्रमणका कारण निकट भविष्यमा तनाव कम हुनेभन्दा पनि अझ बढ्ने सम्भावना देखिएको विश्लेषण गरिएको छ ।
अमेरिका र इरानबीचको यो द्वन्द्वले दुई देशबीचको सम्बन्ध मात्रै नभएर समग्र मध्यपूर्वको सुरक्षा र विश्व राजनीतिमा पनि गम्भीर प्रभाव पार्ने देखिएको छ ।



















