
विराटनगर । बजारमा खाना पकाउने ग्यासको अभाव हुने त्रासका कारण उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा विराटनगरमा ग्यासकाे कृत्रिम अभाव देखिएको छ ।
नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका अनुसार भारतबाट ग्यासको आपूर्ति नियमित छ । पछिल्लो १५ दिनमा निगमले २१७ बुलेट ग्यास आयातको अनुमति जारी गरेको छ, जसमध्ये १०० भन्दा बढी बुलेट भित्रिसकेका छन् ।
दैनिक १८ देखि २० बुलेट ग्यास कोशी प्रदेशमा भित्रिरहेका छन् । एउटा बुलेटमा २ हजार ५०० आधा सिलिण्डर ग्यास भरिने भएकाले अभाव हुने स्थिति नरहेको निगमका प्रबन्धक पुष्कर कार्कीले जानकारी दिए ।
आयल निगमले पेट्रोल र डिजेलको मौज्दात पर्याप्त रहेकाले इन्धनको अभाव नहुने स्पष्ट पार्दै अनावश्यक रुपमा सञ्चय नगर्न आग्रह गरेको छ । उपभोक्ताले थप सिलिण्डर होल्ड गर्ने प्रवृत्तिका कारण बजारमा केही चाप देखिए पनि यो समस्या एक साताभित्र समाधान हुने उद्योगी नवीन रिजालले बताए ।
ग्यासकाे अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमन पनि सुरु गरेको छ ।

























