
काठमाडौँ । लागु औषध मुद्दामा कैद भुक्तान गरिरहेका बेला आन्दोलनको फाइदा उठाउँदै फरार भएका एक कैदीलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२५ घर भई हाल तारकेश्वर–९ मनमैजु बस्ने ३५ वर्षीय मनिष राज श्रेष्ठ छन् ।
लागु औषध मुद्दामा १० वर्ष कैद सजाय पाएका श्रेष्ठ २०८२ असार २२ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए । उनी गत भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
फरार भएपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका श्रेष्ठलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चैत २ गते राति १० बजे ठमेलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेश गरिएको छ ।

























