
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
उनी कोशी प्रदेशबाट सर्वोत्कृष्ट भएका हुन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना, उच्च मनोबल, साहस र प्रभावकारी कार्यसम्पादनको आधारमा उनलाई ‘वेस्ट पुलिस अफ दी मन्थ’को उपाधि प्रदान गरिएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाको क्षेत्र नम्बर ५ अत्यन्त संवेदनशील मानिएको थियो ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका उम्मेदवार प्रतिस्पर्धामा थिए । उक्त प्रतिस्पर्धाबाट रास्वपा नेता शाह अत्यधिक मतका साथ विजयी भइसकेका छन् ।
डीएसपी लम्सालको नेतृत्वमा सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गरिएपछि मतदान केन्द्रको सुरक्षा, सम्भावित झडप रोकथाम र सूचना संकलनमा सफलता प्राप्त भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । परिणामस्वरूप निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको थियो ।
साथै, जेनजी आन्दोलनको आवरणमा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियारहरू फेला पार्न पनि लम्साल नेतृत्वको प्रहरी सफल भएको छ । आन्दोलनका क्रममा लुकाइएका हतियारहरु प्रहरीले फेला पारेको थियो ।
विभिन्न स्थानबाट प्रहरीले १९ जना प्रतिवादीलाई पक्राउ गरेको थियो । फागुन महिनाभर इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका ३५ वटा मुद्दामध्ये आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा सोही महिनाभित्रै फर्छ्यौट भएका थिए ।
डीएसपी लम्सालले कार्यालय पुनर्निर्माण, आवश्यक फर्निचर र उपकरण व्यवस्थापनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । ध्वनि प्रदूषण नियन्त्रणमा पनि कडाइ गर्दै २१७ वटा मोटरसाइकललाई कारबाहीको दायरामा ल्याइएको थियो ।
चालु तथा पेन्डिङ मुद्दाका मिसिल व्यवस्थापनमा सक्रियता देखाएका डीएसपी लम्सालले न्यायिक प्रक्रिया सहज बनाउन योगदान पुर्याएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । लम्सालको बहुआयामिक नेतृत्व र प्रभावकारी कार्यसम्पादनले नागरिकमा प्रहरीप्रति विश्वास अभिवृद्धि गराएको प्रदेश प्रहरीको ठहर छ ।


























