
कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–४ मा मंगलबार साँझ ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको छ ।
सौतेनी छोराले उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । जिल्ला प्रहरी प्रवक्ता हेमबहादुर शाहीका अनुसार ५० वर्षीय हरिप्रसाद श्रेष्ठले घरायसी विवादका क्रममा हँसियाले आक्रमण गरी सौतेनी आमाको हत्या गरेका हुन् ।
सौतेनी छोराको आक्रमणबाट बिन्दाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परेर मृतकका नातेदार भगवतीदेवी श्रेष्ठ घाइते भइ अस्पतालमा उपचाररत छन् ।
सौतेनी आमाको हत्यापछि हरिप्रसाद फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । घटनापछि स्थानीय त्रसित बनेका छन् ।

























