
काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजनाहरूमा नागरिक लगानी कोष जस्ता संस्थाहरूले लगानी गर्नुपर्ने बताएका छन्। कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बूढीगण्डकी जलविद्युत आयोजना जस्ता ठूला परियोजना अघि बढाउन सरकारले स्वीकृति दिइसकेकाले यस्ता क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री खनालले विद्यमान कर प्रणालीमा सुधारको आवश्यकता औंल्याउँदै दोहोरो कर हटाउनु पर्ने बताए। ‘कर प्रणालीमा समानता र नीतिगत सहजता अनिवार्य छ,’ उनले भने। आफ्नो कार्यकालमा दोहोरो करको विषय पूर्ण रूपमा समाधान हुन नसके पनि आगामी सरकारले यसलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास उनले व्यक्त गरे।
बजारमा रहेको अधिक तरलता न्यूनीकरणका लागि सरकारले १५ देखि २० वर्ष अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जानकारी समेत उनले दिए। यस्ता दीर्घकालीन ऋणपत्रले आर्थिक स्थायित्व कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ।
उनले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलबाट नयाँ आयोजनाहरू अघि बढाउन सकिने धारणा राखे। विशेष गरी कृषि परियोजनाका लागि भूमिको हदबन्दी हटाउने जस्ता नीतिगत सुधार गरेर उत्पादनमूलक क्षेत्रमा लगानी भित्र्याउन सकिनेमा उनले जोड दिए।

























